मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

दाहालको प्रस्तावमाथि ओलीले दिन थाले बुदाँबुदाँमा जवाफ

आजको सचिवालय बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ । शनिबार दिउँसो १ बजेदेखि बालुवाटारमा बैठक सुरु भएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पत्रबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ दिइरहेका छन् ।

निकै महत्वका साथ हेरिएको आजको सचिवालयमा बैठकमा दाहालको पत्रमाथि बुँदाबुँदामा जवाफ दिन सुरु गरेको बैठकस्थलबाट एक सचिवालय सदस्यले जानकारी दिए । दाहालले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरेर लिखित जवाफ तयार गरेका थिए ।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए । आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप  बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।

गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुने छन् ।

गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।

        सचिवालय बैठकमा केपी ओली र पुष्पकमल दाहाल  । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

पछिल्ला समय मन्त्रिपरिषद्‍मा हेरफेर, राजदूत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।

गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो ।   नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन् ।

स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस सुरु भएको हो ।

स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि)-५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्‍मा पुनःगठन गर्ने आदि विषय उल्लेख गरेका थिए ।

र, यो पनि
- के आउँला ओलीको जवाफ ? के होला बैठकमा ? नयाँ रणनीतिमा दाहाल-नेपाल
- सचिवालय बैठकअघि दुई नेताको सुझाव : यसपटक विधिले जित्यो भने जनताको जित हुनेछ
- दाहाललाई ओलीको जवाफ तयार