मुख्यमन्त्री व्यस्त, गण्डकी प्रदेशमा बजेट छलफल अस्तव्यस्त
सत्ता साझेदार सांसद भन्छिन्- 'सरकारमा बस्नुको औचित्य कम हुँदैछ'
पोखरा : सरकार गठन भएको २२ दिन पुगिसक्दा पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन । सत्ता साझेदार दलहरुसँग मन्त्रालयको भागबन्डा मिलाउन नसकेपछि केन्द्रका नेतासँग आग्रह गरेका छन् । अहिले प्रदेशका सत्ता साझेदार दलहरु केन्द्रको निर्णय कुरिरहेका छन् ।
मुख्यमन्त्री पोखरेल बजेट छलफलपछि मन्त्रिपरिषद विस्तार गर्ने सोचमा छन् । किनकी बजेट छलफलअघि नै मन्त्रिपरिषद विस्तार गर्दा मन्त्रीका आकांक्षीले बजेट फेल गराउन सक्ने डर छ ।
सरकार गठनको तेस्रो दिनमै मुख्यमन्त्रीले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत गरेको एक दिनपछि नै सामान्यतः बजेटमाथि छलफल सुरु हुने प्रचलन रहेपनि गण्डकीमा भने अहिलेसम्म बजेट छलफल सुरु हुन सकेको छैन ।
बाढी, पहिरोले क्षति पुर्याएपछि धेरै सांसद आफ्नै निर्वाचन क्षेत्रमा छन् । मुख्यमन्त्री पोखरेल पनि औपचारिक कार्यक्रममा व्यस्त छन् । शुक्रबार मुख्यमन्त्री पोखरेलले ‘हब कोअपरेटिभ सर्भिस’को उद्घाटन गरे भने शनिबार सिलिंगे कृषि सहकारीका कृषकलाई कृषि सामग्री वितरणमा गए ।
शनिबार उनले स्याङ्जा सेतीदोभानमा सामुदायिक अस्पतालको शिलान्यास गरे । मुख्यमन्त्री पोखरेल औपचारिक कार्यक्रमहरुमा व्यस्त हुँदा अहिले सत्ता साझेदारहरुको छलफलमा विश्राम लागेको छ ।
‘पोखराको खबर के छ ? म त गोरखामा बाढी, पहिरो पीडितहरुसँग आएको छु, ब्रेक लागेको छ, छलफल नै भएको छैन,’ मन्त्री हरिशरण आचार्यले भने । माओवादी सांसद दीपक कोइराला भने आफूहरु केन्द्रको निर्णय कुरिरहेको बताउँछन् । प्रदेशका संसदीय दलले सबै जिम्मा केन्द्रलाई दिएकाले यहाँ कुनै मन्त्रालयमा दाबी पनि नरहेको कोइरालाले बताए । ‘पेन्डिङमा छन् सबै कुरा । माथिबाट टुंगिएर आएपछि यहाँ सबै कुरा व्यवस्थापन हुन्छ,’ कोइरालाले भने ।
बजेट छलफल ढिला भएकाले मुख्यमन्त्रीलाई छलफल सुरु गर्न मौखिक रुपमा आग्रह गरेको उनको दाबी छ । तर मुख्यमन्त्री व्यस्त बनेको र छलफल सुरु हुन समस्या भएको उनले बताए । कोइरालाले भने, ‘बजेट छलफल सुरु हुन सकेको छैन, हामीले त सुरु गर्न भनेका हौं । समस्या छ, मुख्यमन्त्रीज्यू व्यस्त हुनुहुन्छ ।’
जनता समाजवादीकी सांसद धनमाया लामा पोखरेल सरकार अहिले जनताका समस्यामा मौन बसेको बताउँछिन् । बाढी पहिरोले जनता समस्यामा पर्दा मुख्यमन्त्री भने सत्ताकै किचलोमा बस्नुले गठबन्धनको औचित्य समाप्त हुने डर बढेको उनले बताइन् । बजेट छलफल सुरु गर्न सरकारलाई भने पनि सरकारले चासो नदिएको पोखरेलले बताइन् । ‘प्रक्रिया नै सुरु गर्न सकेको छैन, खै कस्तो बजेट बनाएर ल्याउँछन् । चासो नै दिएका छैनन्,’ धनमायाले भनिन् ।
जनताहरु घरविहीन बन्दा पनि सरकारले कुनै वास्ता नगरेको उनको आरोप छ । ‘जनता घरविहीन भएका छन् । कुनै वास्ता छैन, सरकार आनन्दले बसेको छ । बजेट छलफल कहिले हो थाहा छैन, मुख्यमन्त्रीको असमक्षता देखियो,’ उनले भनिन् । जसपासँग मुख्यमन्त्रीले गरेको सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने उनले बताइन् ।
कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै हुँदा मन्त्रिपरिषद विस्तार गर्न नसकेपनि दोष जनता समाजवादीलाई दिएर कांग्रेस तर्किएको उनको तर्क छ । मुख्यमन्त्रीले आफ्नै सांसदमाथि विश्वास गर्न नसकेको धनमायाको भनाइ छ । ‘बरु युवा क्लब सिस्टममा हुन्छन् । कांग्रेसमा सिस्टम देखिएन, सबै मन्त्री हुन खोजेर सरकार गठनमा ढिलाइ कांग्रेसले नै गरेको हो,’ उनले भनिन् ।
कांग्रेसले संघीयता नस्वीकारेको धनमायाको भनाइ छ । कांग्रेसले प्रदेशका मामिलालाई संघमा लगेर समाधान गरिदिन अनुरोध गर्नु, प्रदेश कमिटी नबनाउनुले पनि कांग्रेसमा संघीयताको मर्म नदेखिएको उनको तर्क छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद धनञ्जय दवाडी बजेटमाथिको छलफललाई सुरु नगरी मुख्यमन्त्रीले कार्यक्रममा आफूलाई व्यस्त बनाउनु नीतिगत भ्रष्टाचार रहेको बताउँछन् । बजेट भाषणकै दिन रातो किताब सांसदलाई दिनुपर्ने भएपनि रातो किताब पनि नदिई अनिश्चितकालका लागि सदन स्थगित गरेर बस्नु लोकतान्त्रिक प्रणालीको खिल्ली उडाइएको उनको जिकिर छ । ‘संसद छलेर न छलफल थाल्ने न जनताको काम गर्ने यो सरकार नालायक साबित भएको छ, साझेदार दलहरुमा एमाले विरुद्धको नीति मिलेपनि अरु कुनै एजेन्डा नै मिल्दैन,’ उनले भने ।
यता सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री कुमार खड्का १ साताभित्र बजेट छलफल थाल्ने सूचना संसदलाई गराउने बताउँछन् । बजेट छलफलमा आर्थिक विधेयक, विनियोजन विधेयकमाथि एकसाथ छलफल गरिने मन्त्री खड्काले बताए । ‘कहिले समय दिने भन्ने काम त कार्यव्यवस्थाको भयो, बजेटमाथिको छलफल थाल्न सदनमा १ हप्ताभित्रै जानकारी गराउँछौं,’ मन्त्री खड्काले भने ।
पोखरेल २९ जेठमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको साथमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सो दिन चार जनालाई मन्त्री बनाएर सपथ लिएका थिए ।
कांग्रेसबाट कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई मुख्यमन्त्रीले मन्त्रीको सपथ खुवाएका थिए । चार मन्त्रीको जिम्मेवारी पनि लामो रस्साकस्सीपछि ११ असारमा मुख्यमन्त्रीले मन्त्रीहरुको जिम्मेवारी टुंगो लगाएका थिए । तर कार्यभार सम्हाल्ने दिन दुई मन्त्रीले मात्र जिम्मेवारी स्वीकारे ।
दुई जनाले खोजेको मन्त्रालय नपाएपछि कार्यभार सम्हालेनन् । मन्त्री कुमार खड्काले सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । हरिशरण आचार्य र दीपक मनाङे आफूले रोजेको मन्त्रालय नपाउँदा विनाविभागीयमै सीमित छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया