दूध बेचेर वार्षिक २० लाख कमाइ

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुगे । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किए ।
विदेशको दुःख देखेपछि स्वदेश फर्किएका उनले काठमाडौँमा पाँच वर्ष होटल व्यवसाय गरे । होटल व्यवसाय राम्रो भए पनि उहाँलाई गाउँघरको यादले सताइ रह्यो । आधा दशक होटल व्यवसाय गरेका सुरेश अन्तत विसं २०७७ मा गाउँ फर्के । उनी गाउँ फर्कने समयमा देशभर कोरोना सङ्क्रमणको फैलिँदो थियो । कोरोना सङ्क्रमणका कारण गाउँमा पनि अन्य काम गर्ने वातावरण थिएन । कँडेलका घरमा बाबाआमाले पहिलेदेखि नै सामान्य रुपमा दूध बिक्री गर्दै आएका थिए । गाउँपालिकाले दुग्ध उत्पादन गर्ने किसानलाई भैँसी अनुदान दियो ।
अनुदानमा पाएको भैँसीले सुरेशलाई दूध उत्पादनमा लाग्ने हौसला दियो । उनले थप दुई वटा भैँसी लिएर व्यावसायिक रुपमै दूध उत्पादन गर्ने निधो गरे । अहिले उनी जिल्लामै दुग्ध उत्पादन गर्ने अब्बल किसानका रुपमा परिचित छन् । सुरेशको भैँसीपालन व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रो हुँदै गएको छ ।अहिले उनलाई लन्डनमा नमिलेको खुसी भैँसी पालेर मिलेको छ । उनले भैँसी पाल्न थालेपछि वरपरका अन्य किसानले पनि व्यावसायिक रुपमा दूध उत्पादनमा लागेका छन् ।
कँडेललाई अहिले घरपरिवारको पनि दरिदो साथ छ । चार वर्ष अगाडि फार्म दर्ता गरेका कँडेलले वार्षिक १५ हजार लिटर दूध बिक्री गर्दै आएका छन् । रु दुई लाखबाट सुरु गरेको व्यवसायमा हालसम्म रु २५ लाख बढी लगानी उनले गरिसकेका छन् । उनको फार्ममा हाल सात उन्नत जातका भैँसी छन् । बागलुङ बजार नजिक रहेको हुँदा दूध खपत राम्रो छ । कँडेलले वार्षिक रु २० लाखको दूध बिक्री गर्दै आएका छन् ।
विदेशमा दुःख गर्नुभन्दा परिवारसँगै घरगोठ र बारीमा काम गरे पनि राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । लन्डन पुगेका बेला स्पेन, पोर्चुगल, फ्रान्ससमेत घुमेको अनुभव सुनाउँदै त्यो ठाउँमा बस्न मन नलागेपछि स्वदेश फर्किएको कँडेलले बताए । विदेशको ठूलो सपना देखे पनि त्यहाँको जति दुःख आफ्नै खेतबारीमा गरे मनलाई सन्तुष्टि मिल्ने र आम्दानी पनि गर्न सकिने उनको भनाइ छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया