सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती

नवलपरासी (बर्दघाट– सुस्तापूर्व)को गैँडाकोट– ११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान बिस्तारै फेरिँदै गएको छ । केही वर्षअगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा प्रयोगमा आउने उक्त फाँट अहिले तोरीले पहेँलपुर भएको हो ।
पहिलो स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित भएर आएका जनप्रतिनिधिको प्रयासले बिस्तारै यस ठाउँमा परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । गैँडाकोट नगरपालिकाले यहाँको जमिनलाई सिँचाइ सुविधा पुर्याउन बोरिङ गाड्ने र सिँचाइका लागि कुलो बनाउने काम गरेसँगै परिवर्तन आएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चैतेधानको पकेट क्षेत्रका रूपमा परेको यो ठाउँ धान जोनमा परिणत हुन लागेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । यहाँ बोरिङ र सिँचाइको व्यवस्था गर्दै दुई खेती धान फल्ने वातावरण सिर्जना गरिएको उनले बताए ।
'धानसँगै तोरी पनि उत्पादन गर्नका लागि तोरी पकेट क्षेत्र बनाउन हामीले यो वर्ष तोरीमा लगानी गरेका छौँ,' नगर प्रमुख अधिकारीले भने, 'कृषकहरूलाई करिब ४ सय बिघामा तोरीखेती गर्न ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेका छौँ ।' नगरपालिकाले यहाँको खेतबारीमा सिँचाइ सुविधासँगै बिउमा अनुदान दिँदा पूरै फाँटमा तोरी फुलेर पहेँलै भएको उनले बताए ।
भेँडाबारीमा चैते धानसँगै बर्खे धान पनि लहलह झुल्दै आएको अधिकारीले बताए । पालिकाले निरन्तर रूपमा सिँचाइको व्यवस्था गरेको भन्दै पालिकाले सहयोग गरेकाले किसान पनि उत्साहित भएर धान, तोरी, विभिन्न जातका तरकारी र सागसब्जी खेती गरिरहेका उनले उल्लेख गरे ।
भेँडाबारीको केही क्षेत्रमा अझै सिँचाइ नपुगेको भन्दै यस वर्षको बजेटले भत्किएको बाँध मर्मत तथा थप बोरिङ निर्माणको व्यवस्था गरिएको नगर प्रमुख अधिकारीले बताए । 'हामीले क्रमशः अन्य वडामा खेती विस्तार गर्दै ठूला बोरिङहरू निर्माण गर्ने योजना बनाएका छौँ,' उनले भने, 'नमुनाका लागि वडा नं ११ मा उन्नत जातको तोरीको बिउ वितरण गरिएको छ । उत्पादन राम्रो भएमा तोरीखेतीलाई अझै विस्तार गरेर लैजाने योजनामा छौँ ।'
तोरीको उत्पादनअनुसार पालिकाले बजारीकरणमा सघाउने नगर प्रमुख अधिकारीले बताए । यहाँ उत्पादन हुने खाद्य सामग्री बिक्रीवितरणका लागि समस्या नभएको भन्दै पालिकाभित्रै ठूला मिलहरूसँग समन्वय गरिने उनले बताए ।
गैँडाकोट– ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले यसअघिका वर्षमा भेँडाबारीमा तोरीखेती थोरै मात्रामा हुने गरेकोमा पछिल्लो समय सिँचाइ सुविधा पुगेपछि खेती विस्तार हुँदै गएको बताए । 'केही किसानले लगाउने सबै तेरीखेतीमा लाई कीरा लागेर उत्पादन नहुने अवस्था थियो,' उनले भने, 'भेँडाबारी फाँटमा हिउँदको समयमा पानी हुँदैनथ्यो । अहिले सिँचाइ पुगेपछि हिउँदमा पनि फाँट हराभरा भएको छ ।'
स्थानीय तह निर्वाचन २०७४ पछि यस ठाउँलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ वडा र स्थानीय कृषक समूहको संयुक्त प्रयासमा हरेक वर्ष कुलो पक्की बनाउने र थप्ने, कुलोको छेउमा बाटो, बत्ती र पानी पुर्याउने योजनामा पालिकासँग समन्वय गरी अघि बढिएको वडाध्यक्ष सुवेदीले बताए ।
गैँडाकोट– ११ की कृषक चन्द्रकला महतोले २ सय ५० किसानले ४ सय बिघा क्षेत्रफलमा तोरीखेती गरेको बताए । पहिला स्थानीय प्रजातिको तोरीखेती गरिने गरिएकोमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा ‘मोरङ–२’ र ‘उन्नत’ जातका बिउ दिएपछि त्यसकै खेती गरिएको उनको भनाइ छ ।
केही वर्षदेखि यहाँ तीन खेती अन्न उब्जनी हुने गरेको उल्लेख गर्दै महतोले किसानलाई फाइदा हुँदा खेती गर्ने क्षेत्रफल र किसानको सङ्ख्या बढ्दै गएको बताए । तोरीको उत्पादन राम्रो भएकाले व्यावसायिक तोरीखेतीतर्फ आफूहरू आकर्षित भएको उनको भनाइ छ ।
उत्पादन भएको अन्नबालीको बजारीकरणमा नगरपालिका र वडा कार्यालयले समन्वय गरिरहेकाले समस्या नभएको भन्दै कृषक समूहले बिक्रीको प्रबन्ध गरिदिने महतोले बताए । बालीमा दिइने अनुदानका कार्यक्रमले किसानलाई खेतीतर्फ प्रोत्साहन गरिरहेको उनले अनुदान कार्यक्रमलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
यस वर्ष गैँडाकोट नगरपालिकाको भेँडाबारी ब्लकमा ४ सय बिघासँगै पालिकाभित्र करिब २ हजार बिघा क्षेत्रफलमा तोरीखेती गरिएको छ । पालिकाले यस वर्ष ४ सय बिघा क्षेत्रफलमा तोरीको बिउमा अनुदान दिएको छ । गैँडाकोट–११ लाई केन्द्रमा राखेर १२, १४ र १५ लाई पनि समेट्दै खेती विस्तार गर्ने तयारी गरिएको पालिका कार्यालयले जनाएको छ । रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया