बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

काठमाडौँ- जिल्ला अदालत मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न बैंकहरूलाई पत्राचार गरेको छ ।

अदालतले मंगलबार पाँच वटा बैंकहरूलाई क्लासिक टेकका खाता रोक्का राख्न पत्राचार गरेको हो । व्यापारिक साझेदार कम्पनीले दिएको मुद्दाको आधारमा अदालतले क्लासिक टेकका खाता रोक्का राख्न पत्रकार गरेको हो ।

रोक्का राख्न पत्राचार गरिएका बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, हिमालयन बैंक, सानिमा बैंक र एनआइसी एसिया बैंक रहेका छन् ।

‘उपरोक्त विषयमा वादी बयरवन केवल नेट प्रालिसमेत र प्रतिवादी क्लासिक टेक प्रालिसमेत भएको करारीय दायित्व पूरा गराई सम्झौता बमोजिम रकम दिलाई पाऊँ मुद्दामा यस अदालतको मिति २०८१/१२/२६ गतेको आदेशअनुसार लेखिन्छ,’ अदालतले लेखेको पत्रमा उल्लेख छ ।

क्लासिक टेक र उसको व्यापारिक साझेदार कम्पनी बयरवन केवल नेट प्रालिबीच रकम भुक्तानीको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ ।

बयरवन केवल नेटले क्लासिक टेकले आफूसँग सम्झौता गरेअनुसारको भुक्तानी नदिएको भन्दै अदालतमा निवेदन दिएको थियो । प्रालिका सञ्चालक बलबहादुर खापुङले क्लासिक टेकले सम्झौताअनुसार भुक्तानी नदिएको भन्दै अदालतमा मुद्दा हालेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको अदालतले जनाएको छ ।

यसअघि अदालतले क्लासिक टेकलाई आफ्ना बैंक खाता विवरण उपलब्ध गराउन आदेश दिएको थियो । हाल उक्त कम्पनीले पाँच वटा बैंक खाताको मात्रै विवरण अदालतमा उपलब्ध गराएको छ । ‘अन्य बैंक खाता विवरण प्राप्त भइसकेको छैन, अन्य बैंक खाता क्रमश: उपलब्ध हुँदै जाने भएकाले हाल उपलब्ध भएका बैंक खाताहरू रोक्का राख्न पत्राचार गरिएको छ,’ अदालत स्रोतले भन्यो ।   

खापुङले दिएको निवेदन अनुसार क्लासिक टेक र बयरवन केवल नेटबीच २०७६ भदौ महिनामा सेवा विस्तारबारे सम्झौता भएको थियो । उक्त सम्झौतामा केवल नेट प्रालिलाई क्लासिक टेकले काम गरेबापतको (४० प्रतिशत कमसन) दिनुपर्ने उल्लेख छ ।

‘उक्त रकम भुक्तानी नगरीकन क्लासिक टेकले बल मिच्याइँ तरिकाले कर्मचारी खटाएर इन्टरनेट सेवा विस्तार गरिरहेको छ,’ खापुङले भने, ‘उक्त क्रियाकलापबारे थाहा पाएपछि मैले राम्रोसँग कुराकानी गरी आफ्नो हिसाब-किताब गरिदिन भनेको थिएँ, तर उहाँहरूले भुक्तानी नदिएपछि म अदालतमा गएको हुँ ।’

खापुङका अनुसार क्लासिक टेक कम्पनीले पटक-पटक न्यायोचित तरिकाले हिसाब मिलाउने भनी आश्वासन दिइरह्यो । आश्वासन दिने तर हिसाब-किताब गर्न पन्छिने गरेपछि अदालतको सहारा लिएको उनले बताए ।

भुक्तानीको विषय टुंगो नलागेपछि बयरवन केवल नेट प्रालिले मोरङ कानेपोखरी गाउँपालिका क्षेत्रमा सेवा विस्तारमा अवरोध गरेको थियो । उक्त कम्पनीले सेवा विस्तार सुचारू गर्न माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो ।

उक्त निवेदनमा क्लासिक टेकलाई उच्च अदालतले अन्तरिम आदेश दिएको थियो । बयरवन केवल नेट प्रालिले फेरि उच्च अदालतमा निवेदन दिँदा उसलाई समेत अदालतले अन्तरिम आदेश दिएको थियो ।

अदालतले अन्तरिम आदेश दिएपछि पनि आफ्नो हिसाब-किताब चुक्ता नभएपछि क्लासिक टेकविरूद्ध केवल नेट प्रालिका सञ्चालक खापुङले जिल्ला अदालत मोरङमा मुद्दा हालेका हुन् ।

यसअघि क्लासिक टेकका बैंक खाता रोक्का राख्न माग गर्दै खापुङले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा प्रशासनले क्लासिक टेकका आठ वटा बैंक खाता रोक्का राख्न राष्ट्र बैंक विराटनगरलाई पत्राचार गरेको थियो ।

प्रशासनले बैंक खाता रोक्का राख्न पत्राचार गरेपछि क्लासिक टेकले प्रशासन नेतृत्वलाई राजनीतिक दबाब दिएर बैंक खाता फुकुवा गराएको थियो ।

‘अदालतको अन्तरिम आदेशलाई समेत अवज्ञा गरी क्लासिक टेकले कानेपोखरी क्षेत्रमा सेवा विस्तारको अवस्था छ,’ खापुङले भने, ‘अदालतको अवहेलना गरेको अवस्था देखिएकाले त्यसउपरसमेत मुद्दा दिने तयारी मेरो छ ।’