सरकार-चन्द तीन बुँदेः ओलीले बचन दिए, कार्यान्वयन गरेनन्
नेकपाले प्रधानमन्त्री देउवालाई सहमति कार्यान्वयनका लागि आग्रह गर्ने

काठमाडौँ : ‘हिंसाको बाटो हिँडिरहेका सबै समूह शान्तिपूर्ण राजनीतिक गतिविधि सन्चालन गर्न सहमत भएका छन् । हिंसाको बाटो परित्याग गर्दै मूलधारमा समावेश भएका छन् । संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ । मुलुकलाई हिंसात्मक द्वन्दबाट मुक्त गरिएको छ र पृथकतावादको अन्त्य भएको छ । राष्ट्रका प्रमुख राजनीतिक समस्याहरू समाधान गरिएको छ’ मंगलबार प्रधानमन्त्रीको रूपमा अन्तिम (यस पटकको) सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ओलीले भने । उनले नाम त कसैको लिएनन् । तर, उनको संकेत सिके राउत र नेत्रविक्रम चन्दतिर थियो ।
राउत तराईंमा पृथकतावादको राजनीति गरिरहेका थिए भने चन्द व्यवस्थाविरुद्ध संघर्षरत छन् । दुवै ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि शान्तिपूर्ण राजनीतिमा होमिएका हुन् । सरकारसँगको सम्झौतापछि राउत गुमनामजस्तै छन् । सरकारसँग तीन बुँदे सम्झौतापछि शान्तिपूर्ण राजनीतिमा आएका चन्दका सय बढी कार्याकर्ता हिरासतमा छन् । हजारौमाथि मुद्दा छ ।
चन्दलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको उपलब्धी ओलीले सुनाएर गए । यही उपलब्धी ओलीले यसअघि पनि पटक-पटक सुनाए । सम्भवतः आउँदो चुनावसम्म पनि यो उपलब्धी उनको भाषणमा सुन्न पाइने छ । तर, सम्झौताको चार महिनासम्म पनि उपलब्धी सुनाउनुबाहेक ओलीले अरु केही गर्न सकेनन्/गरेनन् ।
प्रतिबन्ध हटाउनेबाहेक चन्द नेकपाका नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता भएन । फिर्ताको प्रक्रियासमेत सुरु हुन सकेन ।
चार महिनामा के-के भयो ? १० दिने अल्टिमेटम नसकिँदै बाहिरिए ओली
गत आइतबार नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले बालुवाटार पुगेरै आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीलाई भेटेर फर्केपछि उनले सार्वजनकि रूपमै पनि सहमति कार्यान्वयन नभएको भन्दै आक्रोष पोखेका थिए ।
सरकारलाई १० दिने अल्टिमेटम दिएर फर्केका विश्वकर्माले सार्वजनिक रूपमै सरकारलाई चेतावनीसमेत दिएका थिए । ओलीसँगको भेटपछि आक्रामक देखिएका उनले सहमति कार्यान्वयन नभए जनताले दण्डित गर्नेसमेत चेतावनी दिएका थिए ।
संसदीय राजनीतिमा संकटोन्मुख तत्कालीन प्रधानमन्त्री ओलीसँग चन्द नेकपाले वार्ता र सहमति गर्यो । चार महिनासम्म सम्झौताका महत्वपूर्ण बुँदा नै कार्यान्वयन भएन । ओलीले वचन दिए, कार्यान्वयन नै नगरी बाहिरिए ।
‘सरकारले सहमति कार्यान्वय गर्नेमा हामी विश्वस्त छौं,’ उनले भनेका थिए, ‘जहासम्म गरेन भने के गर्ने भन्ने प्रश्न छ, गरेन भने जनताले दण्डित गर्छ नि त ।’ नेकपा प्रवक्ता विश्वकर्मासँगको भेटमा तत्कालीन प्रधानमन्त्री ओलीले सहमति कायान्वयमा आफू गम्भीर रहेको जवाफ दिएका थिए ।
ओलीले रिहाइ र मुद्दा फिर्ताका लागि कानुनी र राजनीतिक रूपमा पहल गर्ने प्रतिबद्धता पनि जनाएका थिए । त्यसका लागि तत्कालीन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई जिम्मा दिइएको थियो । तर, प्रतिबद्धता जनाएको १० दिन पनि पूरा नहुँदै ओली सरकारबाट बाहिरिए । मुद्दा फिर्ता र चन्द नेकपाका नेता कार्यकर्ताको रिहाइबारे कुनै काम हुन सकेन ।
चार महिनाको अवधिमा सम्झौता कार्यान्वयमा केही गर्न नसकेको सरकारले पछिल्लो १० दिनमा सरकारले के के गर्यो ? राजनीतिक र कानुनी पहल गर्ने जिम्मा पाएका डा. भट्टराईसँग यसको मूर्त जवाफ छैन । तत्कालीन वार्ता टोलीका सदस्यसमेत रहेको भट्टराईले प्रक्रिया सुरु गर्दागर्दै सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिए । प्रक्रिया सुरु गर्दागर्दै सरकारबाट बाहिरिनु परेको उनले बारम्बार दोहोर्याए ।
चार महिनामा के-के गर्नु भयो भन्ने प्रश्नको भने उनले घुमाउरो जवाफ दिए । ‘कानुनी प्रक्रियालाई अगाडि बढाएका थियौं । हामी हटिहाल्यौं,’ इकागजसँग उनले भने, ‘उहाँहरूका १४१ जना बन्दी हुनुहुन्छ । दुई हजार बढीको मुद्दाको सबै रेकर्ड लिएर त्यसलाई अगाडि बढाउनेतिर थियौँ । सरकार हट्यो । उहाँहरूले निवेदन लिएर आउनु भयो । काम अगाडि बढिरहेको थियो । हामी हट्यौँ ।'
प्रक्रिया सुरु गर्दैगर्दा सरकारबाट बाहिरिनु परेको प्रतिक्रिया दिएका डा. भट्टराईले सरकारले सुरु गरेको प्रक्रिया के थियो भन्ने पनि खुलाउन सकेनन् । ‘विभिन्न निकायसँग समन्वयको काम भइरहेको थियो,’ उनले भने, ‘कानुनी कुरा सबै मलाई थाहा हुँदैन । राजनीतिक मान्छेलाई सबै स्टेप कहाँ थाहा हुन्छ । काुनन मन्त्रालयतिर बुझ्नुस् न । हामी हटिहाल्यौं ।’
२६ जना रिहा हुँदै
सम्झौतापछि अदालतमा मुद्दा चलिनसकेका चन्द नेकपाका केही नेता कार्यकर्ता छुटेका थिए । प्रहरीकै पहलमा रिहा हुने केही नेता कार्यकर्ता छुटे । तर, अदालतमा मुद्दा चलिसकेका अधिकांश हिरासतमै छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता फडिन्द्र गौतमले २६ जनाको मुद्दा फिर्ता लिने क्रममा रहेको जानकारी दिए ।
उनकाअनुसार २६ जनाको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । संखुवासभा जिल्ला अदालतले अनुमति दिएपछि उनीहरू रिहा हुनेछन् । ‘२६ जनाको मुद्दा मन्त्रिपरिषदले फिर्ता लिने निर्णय भएर आइसकेको छ,’ उनले भने, ‘अब जिल्ला अदालतले अनुमति दिएपछि उनीहरू छुट्छन् ।’
उनकाअनुसार थुनामा रहेका अरुको मुद्दा फिर्ताबारे भने कुनै निर्णय भएको छैन । केही मुद्दा फिर्ता लिन नमिल्ने प्रकृतिका भएकोले प्रक्रिया नै सुरु हुन नसकेको उनले बताए ।
पछिल्लो १० दिनको अवधिमा चन्द नेकपाका नेता चुडामणि वलीसहितका १४ जना बन्दी नेता कार्यकर्ता रिहा भएका थिए । सर्वोच्च अदालतले वलीसहित १४ जनालाई रिहा गर्न आदेश दिएपछि उनीहरू छुटेको वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बताए । उनका अनुसार १४ जना कानुनतः सर्वोच्चमा बहसपछि छुटेका हुन् । यसमा सरकारको कुनै भूमिका छैन । ‘सरकारको सहमतिले रिहा भएका होइनन्,’ वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘वकिलले मुद्दा लडेर 'मेरिटबेस' रिहाइ भएका हुन् । सम्झौताअनुसार त मुद्दा फिर्ता लिनुपर्यो नि ।’
चन्द नेकपाका दुई हजार बढी नेता कार्यकर्ताको तर्फबाट मुद्दा लडेका भण्डारीले अहिले बन्दी रहेका अधिकांश नेता कार्यकर्तामाथि जघन्य अपराधमा मुद्दा चलाइएकोले छुट्न समस्या भएको बताए । सरकारले भन्दैमा मात्रै उनीहरू नछुट्ने उनको भनाइ छ ।
यसका लागि केही कानुनी अड्चन रहेको उनले सुनाए । ‘प्रतिबन्धका बेला सरकारले नेता कार्यकर्ता पक्राउ गर्दै हात, हतियार र बम विस्फोटका झुटा मुद्दा लगायो,’ उनले भने, ‘अब अहिले कतिपय मुद्दा फिर्ता लिन नपाइने सूचीमा परेका छन् ।’ तर, सरकारको इच्छाशक्ति भए असम्भव भने नभएको उनको भनाइ छ ।
‘देउवालाई सहमति कार्यान्वयनका लागि आग्रह गर्ने’
संसदीय राजनीतिमा ओली एक्लिएका बेला चन्दले सकरारसँग वार्ता गरेका थिए । संकटउन्मुख सरकारसँग चन्दले तीन बुँदे सहमति गरे । ओलीले प्रतिबन्ध हटाए (चन्द नेकपामाथि ओलीले नै प्रतिबन्ध लगाएका थिए) । चन्द पनि शान्तिपूर्ण राजनीतिमा आए । तर, सहमतिको महत्वपूर्ण बुँदा(बन्दी रिहाइ र मुद्दा फिर्ता) कार्यान्वयन नै नगरी ओली बाहिरिए ।
चन्दले ओलीसँग सम्झौता गर्दा ओलीविरुद्ध चर्को संघर्षमा रहेका दलहरू अहिले सत्तामा पुगेका छन् । सम्झौता गरेका ओली कार्यान्वयन नै नगरी बाहिरिएपछि अब तीन बुँदे सम्झौता कसरी कार्यान्वयन हुन्छ भन्ने अन्यौल बढेको छ । तर आफूहरूले व्यक्तिसँग नभइ सरकारसँग वार्ता गरेकोले नवगठित सरकारले सम्झौता कार्यान्वयन गर्ने नेकपाको विश्वास छ ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन बुँदे सम्झौता कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय चन्द नेकपाको सचिवालयले गरेको छ । बुधबार काठमाडौँमा बसेको नेकपा सचिवालय बैठकले देउवा सरकारलाई सम्झौता कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए ।
उनकाअनुसार पुनः राजनीतिक भेटघातलाई निरन्तरता दिने निर्णयसमेत सचिवालयले गरेको छ । ‘सहमति कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,’ बैठकपछि बास्तोलाले इकागजसँग भने, ‘सरकार र हाम्रोबीचमा भएको सहमति कायान्वयन गर्न नयाँ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।’ फेरि राजनीतिक भेटघाटलाई निरन्तरता दिने कुरा भएको छ ।’
यो पनि
संकटउन्मुख सरकारसँग विप्लवको वार्ता
‘ओलीको संकटमोचन, विप्लवको फेस सेभ’

कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्तिमा बस्नेले लालपुर्जा पाउने

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

प्रतिक्रिया