राजनीति

संकटउन्मुख सरकारसँग विप्लवको वार्ता

‘ओलीको संकटमोचन, विप्लवको फेस सेभ’

विनोद देवकोटा |
फागुन १९, २०७७ बुधबार १९:९ बजे

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकारले प्रतिबन्ध लगाएको दुई वर्ष पुग्‍नथाल्यो । प्रतिबन्धको दुई वर्ष नपुग्दै सरकार र विप्लव नेतृत्वको नेकपाबीच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको छ । पहिलो दिन बालुवाटारमा दुई चरणमा भएको वार्ता सकारात्मक भएको वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । दुवै पक्षले मंगलबार वार्ता टोली सार्वजनिक गरेका थिए ।

विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री रामबहादुर थापानै अहिले सरकारी वार्ता टोलीका संयोजक छन् । २०७५ फागुन २८ गते सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि सरकार विप्लवविरुद्ध आक्रामक रूपमै उत्रियो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापाले विप्लवविरुद्ध कडा अभिव्यक्ति दिने मात्रै होइन प्रशासनिक रूपमै तह लगाउने सरकारी रणनीति अपनाए । सरकारी निर्देशनमा प्रहरीले विप्लव नेकपाविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ (खोज र पक्राउ गर) अभियान नै चलायो । दुई वर्षमा  विप्लवका हजारौं कार्यकर्ता पक्राउ गर्न सफल भए पनि प्रशासनिक रूपमै नियन्त्रण गर्न सरकार असफल रह्यो ।


यता विप्लव नेकपाले दाबी गरेजस्तो एकीकृत जनक्रान्ति अघि बढाउन सकेन । प्रतिबन्धले खुला गतिविधि गर्न नपाएपछि बाध्य भएर भूमिगत भए । प्रतिबन्धको दुई वर्ष भूमिगत भए पनि सरकारी दमनको सशक्त प्रतिरोध गर्न सकेन । सरकारले दमनलाई बढावा दियो । विप्लवका एक दर्जन नेता कार्यकर्ताले विभिन्‍न कारणले ज्यान गुमाए । सरकारी दमनको कडा प्रतिरोध गर्ने चेतावनी दिँदै आए पनि शीर्षस्थ नेता पक्राउ परेपछि विप्लव नेकपा रक्षात्मक बन्दै गयो ।

यता सरकार पनि अहिले रक्षात्मक छ । चौैतर्फी आलोचना खेपिरहेको सरकारलाई वातावरण अन्तै मोड्ने विषय चाहिएको थियो । नैतिक संकटमा रहेको सरकारले यही मौकामा विप्लवसँग संवाद अघि बढायो । विप्लवलाई वार्तामा ल्याउननिम्ति ओलीले अनेक सूत्र प्रयोग गरे र सफल पनि भए । सरकार कमजोर र लचिलो भएको बेला यसको फाइदा विप्लवले पनि उठाउन खोजे । सरकारले नै बढी जोड दिएर आह्वान गरेर सुरु भएको वार्तामा आफ्ना मुद्दामा बार्गेनिङ हुन सजिलो हुने विप्लवको आँकलन हुनसक्छ । 

वार्ता कुन दिशामा अघि बढ्छ अहिले नै भन्‍न सकिन्‍न । तर संकटउन्मुख सरकारसँग वार्ता गर्न विप्लव कसरी तयार भए ? विप्लव निकट स्रोतका अनुसार सरकार नै बढी लचिलो भएर प्रस्तुत भएपछि वार्ताको वातावरण बन्यो । यसका पछाडि ओलीका केही निश्चित स्वार्थ हुनसक्छन् भने विप्लवले पनि आफू अनुकुल वातावरण ठाने । 
गत वर्ष विप्लव नेकपा त्यागेर नेकपा प्रवेश गरेका पूराना माओवादी नेता मोहन कार्की दुवै पक्षले ‘फेस सेभ’ गर्न (इज्जत जोगाउन) खोज्दा वार्ताको वातावरण बनेको बताउँछन् । प्रतिबन्धपछि निरन्तर वार्ताको प्रयास गर्दै आएका कार्कीले यतिबेला दुवै राज्यले आफ्नो संकटमोचनको रूपमा वार्ताको थालनी गरेको बताए । 

‘विप्लवसँग वार्ता हुनु सकारात्मक हो । वार्ता अनिवार्य नै थियो,’ उनले भने, ‘तर, अहिले आएर राज्यले आफ्नो संकटमोचनको रूपमा इतर समूहलाई सन्देश दिने गरी वार्ताको थालनी गरेको हो । संकटको बेला विप्लवसँग वार्ता गरेर जस लिने ओलीको रणनीति देखियो ।’ विप्लवसँग वार्ता गर्न पहिलेदेखिनै छलफल भइरहेको भए पनि अहिले आएर त्यसले मूर्त रूप लिएको उनको भनाइ छ । ‘विप्लवसँग वार्ताका लागि पहिलेदेखिनै प्रयास भइरहेको थियो,’ उनले भने, ‘प्रतिबन्धपछि पनि वार्ता गर्न संवाद निरन्तर भइरहेको थियो । तर, गृहमन्त्री नै अननिच्छुक भएपछि वार्ताले सार्थकता पाउन सकेको थिएन । अहिले तत्कालै जस लिइहालौ भनेर सरकारले वार्ताका लागि आह्वान गरेको मात्रै हो ।’ 

संकटउन्मुख सरकारसँग वार्ता गरेर विप्लवलाई ठूलै उपलब्धी केही हुन्छ भन्‍ने आफूलाई नलागेको उनले बताए । नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङ दुनियालाई भ्रममा पार्न ओलीले वार्ताको नाटक गरेको बताउँछन् । सरकार नै संकटमा रहेको बेला गरिएको वार्ताबाट ठूलो परिणामको अपेक्षा गर्न नसकिने उनले बताए । ‘हामीले त पहिलेदेखिनै वार्ता गर्नुपर्छ प्रतिबन्ध लगाउनु हुँदैन भन्दै आएका हौं,’ उनले भने, ‘सरकारले मानेन र प्रतिबन्ध लगायो । पार्टीमाथि प्रतिबन्ध लगाउन संवैधानिक मान्यताविपरीत हो भनेका थियौं । त्यो बेला पनि हामीले प्रयास गरेका हौ । सरकारको तर्फबाट कुनै प्रयास नै भएन । यहाँसम्म कि बन्दी छोड्न अदालतले आदेश दिँदा समेत गिरफ्तार गर्ने गरिरह्यो । पटकपटक झुटा मुद्दा लगाउने काम भयो । दसौं-बीसौं पटकसम्म पुनः पक्राउ गरेर कानुनी शासनको खिल्ली उडाउका कार्य भयो । अहिले सरकार आज हो कि भोलि छोड्ने बेलामा वार्ता गर्ने भनेको नियत चाहि राम्रो होइन भन्‍ने लाग्छ ।’

हैसियत नै गुमिसकेको सरकारले विप्लवसँग वार्ता गर्ने भनेको नाटकमात्रै भएको उनले बताए । ‘कुाराकानी गर्ने कुरालाई अन्यथा मान्‍ने कुरो भएन । तर, अहिले जुन पृष्ठभूमि र सन्दर्भमा कुराकानी गर्न खोजिएको छ । त्योचाहिँ कुराकानीको नाममा दुनियाँमा भ्रम सिर्जना गर्ने कार्य मात्रै हो । यो सरकारको हैसियत नै गुमिसकेको बेलामा वार्ता गर्ने कुरा नाटक मात्रै हो,’ उनले भने, ‘ओलीजी पुस ५ गतेकै लाइनमा हुनुहुन्छ । उहाँको यो प्रणाली तोड्ने लाइन नै हो । विप्लवजीको प्रणालीप्रतिकै विमति हो । वैचारिक रूपले विमति राख्‍न पाउने कुरा एउटा पाटो हो । ओलीजीको विचारको दिशा र विप्लवको दिशा ठीक विपरीत छ । ओलीको विचार निरंकुशतातर्फ लैजाने छ । विप्लवजी संसदीय व्यवस्था हुँदैन समावजादी व्यवस्था चाहिन्छ भन्‍नुहुन्छ । वैचारिक राजनीतिक रुपले मिलनबिन्दू देखिदैन । ओलीलाई अहिलेको संकट टार्नलाई वार्ता गरिएको हुनसक्छ ।’ 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x