बिहीबार ११ बैशाख, २०८२
Thursday, April 24, 2025

दुई दशकदेखि कोमामा गएका साउदी राजकुमार

रियाद- साउदी अरेबियाका राजकुमार अल–वालिद बिन खालिद बिन तलाल, जसलाई प्रायः ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्छ ।

गत हप्ता उनले आफ्नो ३६औं जन्मदिन कोमामा नै मनाएका छन् । उनले यसरी कोमामा नै जन्मदिन मनाएको झण्डै दुई दशक बढी भइसकेको छ, जसका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ भनिएको हो ।

सन् २००५ मा लण्डनमा भएको कार दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेपछि उनी कोमामा गएका थिए र त्यसबेलादेखि नै उनी त्यही अवस्थामा कोमा नै रहेका छन् ।

राजकुमार अल वालिद करिब १९ वर्षदेखि भेन्टिलेटर र फिडिङ ट्यूबको सहयोगमा जीवन बाँचिरहेका छन् । उनलाई रियादको किंग अब्दुलाजिज मेडिकल सिटीमा समर्पित मेडिकल टोलीको निगरानीमा राखिएको छ । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्यमा केही वर्षयता कुनै परिवर्तनसमेत आएको छैन, उनी जस्ताको तस्तै छन् । फगत यति हो कि उनी जिवित रहेका छन् ।

सन् २०१९ मा एक समय थियो, जब उनको औंलाहरूमा केही हल्का हलचल देखिएको थियो र उनको टाउको पनि हल्का हल्लिएको थियो। यो खबर उनको स्वास्थ्य लाभको लागि प्रार्थना गर्नेहरूका लागि आशाको किरण बन्यो । तर, बिडम्बना त्यसपछि कुनै ठोस सुधार भएको छैन ।

राजकुमार अल वालिदका बुबा राजकुमार खालिद बिन तलाल र आमा राजकुमारी रिमा बिन्त तलाल अझै पनि अल्लाहको कृपा र छोराको जाग्ने आशामा बाँचिरहेका छन् । प्रिन्स खालिदले यसअघि धेरै पटक भनेका छन् कि उनले जीवन समर्थन उपकरणहरू हटाउन कहिल्यै अनुमति दिने छैनन किनकि उनी यसलाई अल्लाहको इच्छा मान्छन् ।

यस वर्ष अप्रिल १८ मा उनको जन्मदिनको बारेमा परिवारले कुनै आधिकारिक बयान जारी गरेको छैन। तर संसारभरका मानिसहरूले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना पठाए र एक दिन होश फर्कने आशा व्यक्त गरे।