शनिबार १३ बैशाख, २०८२
Saturday, April 26, 2025

पठानका निर्माताले शंकरको जीवनीमा फिल्म बनाउँदै

मुम्बई- पछिल्लो २० वर्षमा सिद्धार्थ आनन्दले भारतीय सिनेमालाई धेरै उत्कृष्ट फिल्म दिएका छन् । उनले शाहरुख खानदेखि ऋतिक रोशनसम्म सबैसँग काम गरिसकेका छन् । सिद्धार्थ आनन्दले सलाम नमस्ते, ब्याङ ब्याङ, वार, पठान र फाइटर जस्ता फिल्म बनाएर भारतीय सिने उधोगलाई नयाँ उचाईमा लगेका छन् ।

हालै सैफ अली खानसँगको उनको ‘ज्वेल थीफ’ पनि ओटीटी मा रिलिज भइसकेको  छ। यसैबीच, ‘उँचाई’ र ‘नाग्जिला’ पछि सिद्धार्थ आनन्दले महावीर जैनसँग फेरि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । सिद्धार्थले महावीर जैन फिल्म्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘व्हाइट’ बनाउँदै छन् ।

‘व्हाइट’ गुरुदेव श्री श्री रविशंकरको जीवनीमा आधारित अन्तर्राष्ट्रिय थ्रिलर फिल्म हो । फिल्मको प्रि–प्रोडक्सन धमाधम भइरहेको छ र सिद्धार्थ आनन्द र महावीर जैनको जोडीले फिल्मको मुख्य अभिनेताका रूपमा विक्रान्त मेसीलाई फाइनल गरेका छन् । जुलाईबाट छायांकन सुरु हुने यस ग्लोबल थ्रिलरमा विक्रान्त मेसी श्री श्री रविशंकरको भूमिकामा देखिनेछन् । हाल कोलम्बियामा फिल्मको तयारीको काम तिब्र रुपमा चलिरहेको छ ।

फिल्म निर्माताले श्री श्री रविशंकरको जीवनको वास्तविक कथालाई चित्रण गर्न लस एन्जल्सबाट एक अन्तर्राष्ट्रिय स्टार र टोली ल्याउने योजना पनि बनाइरहेको छ। यो फिल्मले कोलम्बियाको ५२ वर्ष लामो गृहयुद्धलाई श्री श्री रविशंकरले कसरी हल गरेका थिए ? भनेर देखाइने छ।

ह्वाइटसँगै सिद्धार्थ आनन्द र महावीर जैनले इतिहासको सबैभन्दा लामो समयदेखि चलिरहेको द्वन्द्वलाई समाधान गर्न कसरी प्राचीन भारतीय ज्ञानले महत्त्वपूर्ण भूमिका खेलेको थियो भनेर प्रकाश पार्ने प्रयास गर्नेछन् ।

यो चलचित्रले शान्ति र मानवताको काम चिनिएको कथालाई ठूलो पर्दामा प्रस्तुत गर्नेछ । यो फिल्म मार्फलिक्स पिक्चर्सले महावीर जैन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्नेछ । पिस क्राफ्ट पिक्चर्सको सह–निर्माता रहेको यस चलचित्रलाई प्रसिद्ध विज्ञापन निर्माता मोन्टु बास्सीले निर्देशन गर्नेछन् । 

विक्रान्त मेसीले पनि फिल्मको तयारी सुरु गरिसकेका छन् । उनले गुरुदेव श्री श्री रविशंकरलाई पनि भेटेका छन् र वास्तविक जीवनमा उनको शरीरको भाषा अवशोषित गर्दैछन्। हिन्दी, अङ्ग्रेजी र स्पेनिस भाषामा बन्ने यो फिल्म धेरै अन्तर्राष्ट्रिय भाषामा डब गरिने छ ।