शनिबार १३ बैशाख, २०८२
Saturday, April 26, 2025

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

बागमती- हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोक सडकखण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ । 
    
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ । 

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । 

ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर्‍याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए । सडक बन्द हुने भएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरेका छन् ।