कोभिडविरुद्ध खोप खरिद गर्न विश्व बैंक र एडीबीसँग ऋण लिँदै सरकार
कोभ्याक्ससँग मोर्डना र जोनसन एण्ड जोनसन खोप किन्ने तयारी

काठमाडौँ : सरकारले कोभिड भाइरसविरुद्धको खोप खरिद गर्न ऋण लिने तयारी गरेको छ । कोभ्याक्ससँग मोर्डना र जोनसन एण्ड जोनसनको खोप खरिद गर्न सरकारले विश्व बैंक र एशियाली विकास बैंकबाट ऋण लिने भएको हो ।
कोभ्याक्ससँग खोप खरिद गर्न सरकारले प्रस्ताव अगाडि बढाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेलले जानकारी दिए । पछिल्लो समय चीनबाट खरिद गरेको खोपले मात्र नेपाली नागरिकलाई नपुग्ने भएपछि थप खोप खरिद गर्न लागिएको हो ।
विश्व बैंकसँग खोप खरिद गर्न सरकारले आठ अर्ब ७० करोड ऋण सम्झौता गरिसकेको पोखरेलको भनाइ छ । एशियाली विकास बैंकसँग पनि खोप खरिद गर्न ऋण सम्झौता गर्न प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए । 'दातृ निकाय राष्ट्र तथा बैंकसँग खोप खरिद गर्न सबैभन्दा सस्तो ब्याजदरमा ऋण लिनेछौं,' उनले भने ।
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोभिडविरुद्धको खोप खरिद गर्न ५ अर्ब रुपैयाँ निकासीका लागि हस्ताक्षर गरिसकेका छन् । सरकारले आउँदो असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउन मिल्ने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । सरकारले छुट्याएको रकमले मात्र खोप खरिदमा बजेट नपुग्ने पोखरेलको दाबी छ । खोप खरिद गर्न विभिन्न मुलुकसँग सहायताको माग भइरहेको उनले बताए ।
पोखरेलले अन्य मुलुकसँग खोप खरिद गर्नुभन्दा सस्तो दरमा पाइने भएकाले कोभ्याक्ससँग खोप खरिद गर्न लागेको बताए ।' सरकारले खोप खरिद गर्ने पहिलो प्राथमिकतामा अब कोभ्याक्ससँग राख्छ,' उनले भने,' खोप निर्माता मुलुकसँग खरिद गर्दा भने महँगो मूल्य पर्छ ।'
फाइजरको खोप किन्न सरकारसँग कुनै पनि योजना छैन । उक्त खोप भण्डारण गर्नै नेपालमा समस्या छ । यो खोप माइनस ७० देखि ८० डिग्रीको तापक्रममा मात्रै भण्डारण गर्नुपर्ने हुन्छ । नेपालमा उक्त खोप भण्डारण गर्न भौतिक संरचना नभएकाले मोर्डना खोप आयातमा सम्भव नरहेको पोखरेलले बताए । मोर्डना र जोनसन दुवै खोपका लागि भण्डारण उपयुक्त रहेको उनले बताए ।
अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोनसन खोप दिइसकेको छ । पोखरेलका अनुसार अमेरिकाले कोभ्याक्समार्फत दिएको खोप नेपाल र अमेरिकाको सम्बन्ध भएकाले खोप उपलब्ध गराएको हो । कोभ्याक्समार्फत आएको भए युनिसेफको बास्केटमा आउने थियो ।
कोभ्याक्सबाट प्राप्त हुने खोप कटौती नभएको पोखरेलको दाबी छ । कोभ्याक्सले कुल ६० लाख मानिसलाई पुग्ने खोप उपलब्ध गराउनुपर्ने छ । नेपालको जनसंख्याको २० प्रतिशत खोप कोभ्याक्सले उपलब्ध गराउनेछ ।
पोख्रेलले चीनसँग थप खोप खरिद गर्ने सम्झौता भइसकेको बताए । अन्य मुलुकसँग तत्कालै खोप खरिद गर्ने योजना नरहेको उनको भनाइ छ । कोभ्याक्स सुविधाबाट पाउने खोप लिनलाई पहल भइरहेकाे उनले जानकारी दिए ।
नेपाललाई पहिलो चरणमा कोभ्याक्सले तीन लाख ४८ हजार खोप उपलब्ध गराएको छ । हालसम्म नेपालमा अनुदान र खरिद गरी ४७ लाख डोज कोभिडविरुद्धको खोप आयात भइसकेको छ ।
चीनबाट अनुदानमा १८ लाख आइसकेको छ । चीनबाट खरिद गरी ४० लाख डोज खोप आउने निश्चित भइसकेको छ । चीनबाट खरिद गरेको खोप साउन ८ गतेसम्म आइसक्नेछ । पहिलो चरणमा खरिद गरेको ८ लाख असार २५ गते आएको थियो ।
भारतबाट पहिलो चरणमा अनुदान स्वरुप ११ लाख र खरिद गरी १० लाख खोप ल्याइएको थियो । बाँकी खोप भारतले रोक लगाएकाले आयात हुन सकेको छैन ।
जापानले पनि खोप कोभ्याक्समार्फत अष्ट्राजेनिकाको १६ लाख खोप दिने भएको छ । कोभ्याक्सले अनुमति दिएपछि नेपालमा खोप आयात हुने मिति तय हुने जापानी दूतावासले जनाएको छ ।
यो पनि
अनुदानको खोप समयमा नदिने कोभ्याक्ससँगै खोप किन्ने तयारीमा सरकार

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया