मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ । 

स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मङ्गलबार २५६९आँै बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताउनुभयो ।  

बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट लिपिको छुट्टै किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो । यस वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई एउटै किताब अध्यापन गराइने र आगामी वर्षदेखि क्रमशः कक्षाअनुसार फरकफरक किताब अध्यापन गराउने योजना रहेको विद्यालयका शिक्षक दोर्ची शेर्पाले बताउनुभयो । किताबमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद, ज्योतिषशास्त्र, काव्य, समग्र मुक्ति र मोक्ष आदि विषयहरु समेटिएका छन् । पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्भोट लिपिमा कक्षा सञ्चालन गर्न लागिएको नेपाल बौद्ध महासङ्घ काठमाडौँका सल्लाहकार आचार्य नुर्बु शेर्पाले जानकारी दिनुभयो । “यो भाषामा ज्ञान भएका मान्छे कम छन्, अबको १० देखि १५ वर्षमा उत्पादन हुने शिक्षित जनशक्तिले विश्वका जुनसुकै विश्वविद्यालयहरुमा सहज रूपमा काम पाउने छन्”, उहाँले भन्नुभयो । 

यसअघि नै जिल्लाको खिजीदेम्बा गाउँपालिकामा शेर्पा भाषामा पठनपाठन सञ्चालन भइसकेको छ । सिद्धिचरण नगरपालिकामा शेर्पा भाषामा पठनपाठन सुरु गर्ने संयुक्त आधारभूत विद्यालय पहिलो विद्यालय हो । यस विद्यालयमा बालकक्षादेखि ५ सम्म अध्ययनरत ४८ विद्यार्थी शतप्रतिशत शेर्पा समुदायका छन् । नगरक्षेत्रका हरेक जातजातिका भाषा संस्कृतिलाई सहयोग गर्दै आएको सिद्धिचरण नगरप्रमुख  तेजेन्द्र खनालले बताउनुभयो । रासस