मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प

जनकपुरधाम- विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो ।

आर्थिक वर्षका योजना कार्यान्वनमा केन्द्रीत हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ । नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको थानीय रामसरोज साहको गुनासो छ ।

उहाँले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गर्नुभएको छ । आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गर्नुभएको छ । ---