बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौँ- विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । मंगलबार काठमाडौंमा एक विशेष समारोहबीच कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा सांसद डा. अमरेशकुमार सिंहसहित अतिथिहरूले कृतिको लोकार्पण गरेका हुन् । 

कृति लोकार्पण गर्दै सांसद सिंहले राजनीतिले देशलाई विभाजन गरेको भन्दै साहित्यले जोड्नुपर्ने धारणा राखे । उनले पृथ्वीनारायण शाहले देशलाई एकीरण गरेको सन्दर्भ निकाल्दै यतिबेला साहित्यकारहरूले आफ्नो कलमका माध्यमबाट देशलाई जोड्नुपर्ने बताए । ‘राजनीतिले ढुंगा हान्न सिकाउँछ, देश झन्‌झन् अद्योगतितर्फ छ । सचेत नागरिकले आफ्ना सिर्जनामार्फत् कडा रूपमा खबरदारी गर्नुपर्ने समय छ, यसका लागि म सबैमा आग्रह गर्दछु’, उनले भने । 

कार्यक्रममा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गरेका थिए । उनले उपन्यासभित्रका पात्रबारे क्रुरता र ममता दुवै भाव रहेको उल्लेख गरे । 

साहित्यिक पत्रकार संघका अध्यक्ष लेकालीले डा. उपाध्यायका कृतिहरूको चर्चा गरे । यस्तै गायक एवं संगीतकार सागर अधिकारी ‘घायल’ले डा. उपाध्यायको छोरी बिदाइ गर्दाको गीत ‘आफ्नै प्रस्तुत गरेका थिए । 

कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा. उपाध्यायको कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए । कलाकार मदनदासले महिशासुर नाटकको सानो अशं सम्वादसहित अभिनयसमेत प्रदर्शन गरेका थिए ।

सर्जक डा. उपाध्यायले आफूले हाम्रै समाज र परिवेशका घटनाक्रमलाई साहित्यमार्फत उजागर गर्ने गरेको बताए । विश्व कीर्तिमान राख्ने उद्देश्यले काम नगरेको भए पनि गर्दै जाँदा कीर्तिमानहरू थपिँदै गएको उनले सुनाए । कार्यक्रममा प्रवासमा बसेर नेपाली भाषा र साहित्यको सेवा गरेका साधक विनोद खड्कालाई सम्मान गरिएको थियो।

‘आसक्ति’लाई कृष्ण भुसालले सम्पादन गरेका हुन् भने रमेश दाहालले भाषा सम्पादन गरेका हुन् । कुम्भ छापाखानाले प्रकाशन गरेको २१२ पृष्ठको कृतिको मूल्य २५० रुपैयाँ राखिएको छ । 

गीत/संगीतका साथै विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गरेका डा.उपाध्यायको यो सत्रौं उपन्यास कृति हो । डा.उपाध्यायका यसअघि ‘मझधार बज्रघात, त्यागी, भाग्यचक्र, अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम, सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ, कसुर’ जस्ता कृतिहरू पाठकमाझ छन् । समाजसास्त्रमा विद्यावारिधि गरेका डा. उपाध्यायलाई विदेशका विभिन्न आठवटा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिसमेत दिएका छन् ।