एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण

रसुवा– प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड तथा जैविक विविधता र प्राकृतिक सम्पदाको हिसाबले धनी एवं रमणीय लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी पवित्र तीर्थस्थलको दर्शनसहित हिमाल तथा पहाडको सुन्दर दृश्य हेरी रमाउने र स्थानीय तामाङ समुदायको कला संस्कृतिको अवलोकन गर्ने उद्देश्यले पर्यटक रसुवा आउने गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्रमा ४२ हजार २३० आन्तरिक एवं बाह्य पर्यटकले भ्रमण गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका अभिलेखकर्ता रेञ्जर केशव ढौडारीका अनुसार स्वदेशी ३० हजार ७५० र बाँकी ११ हजार ४८० विदेशी नागरिक गत साउनदेखि जेठ मसान्तसम्ममा रसुवा जिल्ला घुम्न आएका हुन् । गत आर्थिक वर्ष रसुवा घुम्न आउने पर्यटकको सङ्ख्या ३२ हजार ५९७ रहेको निकुञ्जले जनाएको छ ।
आन्तरिक पर्यटक लाङ्टाङतर्फको प्राकृतिक दृश्यको अवलोकनपछि गोसाइँकुण्डमा जलस्नान गरी फर्कने गर्दछन् । सङ्घीय राजधानी काठमाडौँबाट नजिक रहेको धार्मिक तथा पर्यटकीयस्थल रसुवामा विशेषगरी तीथयात्रुसहित युवायुवतीको घुम्न आउनेक्रम बढेको छ ।
निकुञ्जका अनुसार सोही अवधिमा आगन्तुक पर्यटक, वन पैदावार र हेलिकोप्टर अवतरण शुल्कबापत रु चार करोड ८१ लाख राजस्व संकलन भएको छ । नेपालीलाई प्रतिव्यक्ति एक सय, ‘सार्क’ राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र अन्य देशका पर्यटकलाई तीन हजारका दरले निकुञ्ज प्रवेश शुल्क लिने कानुनी व्यवस्था रहेबमोजिम उक्त रकम सङ्कलन भएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए ।
यसैगरी, ‘मानसरोवर कैलास’ यात्राका लागि दुई हजार ९५२ जना रसुवागढी नाका हुँदै चीनतर्फ प्रस्थान गरेको स्थानीय अध्यागमन कार्यालयले बताएको छ ।
अध्यागमन कार्यालय घट्टेखोला रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवरका अतिरिक्त ८८५ जना तिब्बतको लाह्सा र १५९ जना चाइना एभरेष्टतर्फ प्रस्थान गरेका छन् ।

यस्तो हुनेछ आज दिनभरको मौसम

कोरोनावाट भारतमा २४ घन्टामा थप १० को मृत्यु, मृतक संख्या ९७ पुग्यो

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

यस्तो हुनेछ आज दिनभरको मौसम

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए

यस्तो छ सत्ता र प्रमुख विपक्षीबीचको २ बुँदे सहमति

कहाँ-कहाँ हुँदैछ वर्षा ?

प्रतिक्रिया