बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

काठमाडौं- काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् ।

यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीवारदेखि काममा फर्किएका हुन् ।

उनले बिहीवार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।

बुधवार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलवार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।