आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्गः सांसद थापा

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले बजेट विनियोजनमा शहरी विकास मन्त्रालय सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा उनले जनताको जीवनस्तर उठाउनेतिर ध्यान जान नसकेको बताए ।

ससाना टुक्रे योजना राख्ने काम भएको र आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्न नसक्ने उनको भनाइ छ । शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना बुबा गणेशमानको नाममा बजेट पारेकोतर्फ उनले संकेत गरेका थिए।

टुक्रे योजनाहरु फालिनुपर्ने भन्दै तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र नभइ संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्ने उनको भनाइ छ ।

‘शहरी विकास मन्त्रालय आज सबैभन्दा अस्तव्यस्त र लथालिङ्ग मन्त्रालय देखिएको छ । जनताको जीवनस्तर उठाउनेतिर ध्यान गएको छैन । ससाना टुक्रा र नेताको अझ आफ्ना पिताजीको नामका योजनाबाट देश अघि बढ्छ भन्ने चर्चा बजारमा छ,’ उनले भने, ‘टुक्रे योजनाहरु फालिनुपर्छ । तीन करोडका योजना सांसदहरुको सिफारिसका लागि मात्र होइन संघीय विनियोजनका निम्ति सबैमा लागू हुनुपर्छ । तीन करोड भन्दा कमीका योजना छुट्याइएका छन् भने निमर्मतापूर्वक शहरी विकास मन्त्रालय जुनसुकै मन्त्रालय, पर्यटन, खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय जुनसुकैमा पनि छ भने ति कार्यान्वयन गर्न हुँदैन, रोक्नुपर्छ ।’

सांसद थापाले सांसदहरुलाई देखाउन तीन करोडको सीमा तोक्ने र आफूले मनपरी गर्ने काम गर्न नहुने बताए ।