बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

जनताको बलिदान र विद्यमान व्यवस्थाप्रति अपमान भएमा सह्यय हुन्नः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सैह्य नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको गाली र अपमान सहे पनि सहिद, जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सैह्य नहुने स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद जनताको बलिदान र संघर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्का फुल्का टिप्पणी नगर्न आग्रह गर्नुभयो । संसद् जनताको बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन नसक्ने उनले बताए  । प्रधानमन्त्री ओलीले प्रणाली र संविधानको रक्षा गर्दै मुलुकलाई समृद्ध, नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको धारणा राखे ।

उनले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित रुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्ति बीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैँकको व्यवस्था गरी रु तीन करोडभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताए ।

उनले राज्यका सबै निकायहरुलाई विकास निर्माण र सुशासनका लागि प्रभावकारी रुपमा काम गरेर जनअपेक्षा अनुरुप सम्मुनतिको मार्गमा अघि बढाउन सरकार प्रयासरत रहेको धारणा राखे । सरकारलाई कसैका विरुद्ध कुनै खेल खेल्ने फुर्सद नभएकाले खेल खेल्यो भन्ने खालका प्रचार नगर्न समेत उनले आग्रह गरे ।