बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

असार

शहरमा धान दिवसको उत्सव चलेको छ
गाउँमा थाकेका कृषकको काँध गलेको छ
मल नपाएर हातपाउ र मुटु दुवै जलेको छ।

देशका राष्ट्रपतिलाई चटकको रहर छ
मजदुर किसानलाई  सास्ती र कहर छ
गरीबहरु खोज्दैछ कुन कुनामा जहर छ।
 
न्यायमुर्ति घुसखोरीको बाटो खोज्दैछ
कर्मचारी शहरका मालदार अड्डा रोज्दैछ
युवाहरु विक्षिप्त भई रुँदै  देश छोड्दैछ।

भिउज बढाउन सेलिब्रेटीहरु धान रोप्दैछन्
लुगा  नपाई खेताला गोडा सिँउडीले छोप्दैछन्
नास्ताको लागि किसान चिउरा नुनले डोब्दैछन्।

बजेट जति कृषिमा हाली नेताहरु गाउँ आउदैछ
शहरमा व्यापार गर्नेहरु सबै अनुदान पाउदैछ
किसानका आँखा रसाएपनि नेतामा खुसी छाउँदैछ।

बाउसे जति बेचिए सबै कोहि छैन अहिले गाँउमा
खेतबारी भइएजति गरियो सबै साहुको नाँउमा
भर छैन् कत्ति  बेच्दैनन् छोरा भन्ने घरैका बाउमा

मन्त्रीहरु सन्जालमा धान दिवस मनाउँदै छन्
भएको बजेट कार्यकर्तामा बाँडी रमाउँदै छन्
मजदुरहरुका पाउ हात कुहिएर गनाउँदै छन्

आउछन सबै समृद्धि का बाजा बजाउँछन्
मिथ्या प्रशंसा र वीरताको गाथा भजाउँछन
तर आफ्नै र आफन्तका सपना सजाउँछन्

दक्ष छन् सबै यहाँ लुट्न, कुट्न र लुटाउनलाई
मिलेर केही गर्छौँ यहाँ भन्नेलाई फुटाउनलाई
मुस्किल छ नागरिकलाई एक गाँस जुटाउनलाई

हालिमुहाली छ तिनैको जो छ  पापी र बलवान
फाईदा लिने तिनै हुन जो गाउँछ भक्ति गुणगान
सक्दैन यहाँ सुधार्न समाज आएनी स्वयँ भगवान्‌।