महिला समितिको एनजीओ/आइएनजीओ मोह

२०७७ सालको सुरुवातमै नेपाल कोभिड-१९ महामारीसँग जुध्न पुग्यो । जसका असरहरू एक होइन अनेक देखिए । यस्तो बेला नागरिकको प्रतिनिधि संस्था संसद्को भूमिका मुलुकको हरेक कुना र हरेक संयन्त्रमा सक्रिय हुने अपेक्षा गरिन्छ । यही संसद्को काम, कर्तव्य र अधिकारलाई सहजीकरण गर्ने जिम्मावारी ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिले पाएको हुन्छ ।
संसदीय समिति मुख्य काम हो, सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउने । यसका लागि समितिले संसद्को भार कम गर्ने र सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरेर आवश्यक निर्देशन वा राय सल्लाह दिने गर्छ । यसअर्थमा संसदीय समितिको जिम्मेवारी महत्वपूर्ण र सन्तुलित हुनुपर्छ । तर, कोभिडकालको सुरुवाती आठ महिने अवधिमा प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा एनजीओ/आइएनजीओ सक्रियता देखियो । एनजीओ/आइएनजीओको त्यही सक्रियताको लेखाजोखा हो यो सामग्री । कोभिडकालको सुरुवाती समयमा संसदीय समितिको सक्रियताबारे अन्य सामग्री क्रमशः प्रकाशित हुँदैछन् ।
०००
काठमाडौं : कोभिड-१९ कालको सुरुवाती महिला तथा सामाजिक समिति सक्रियो देखियो । संकटमा सक्रिय भूमिका देखाएको यो समितिले पछिल्लो आठ महिनामा २७ भन्दा बढी छलफल चलाएको छ । यही अवधिमा यसले १५ वटा भर्चुअल छलफल नै चलाएको देखिन्छ । छलफलपछि समितिले सरकारलाई महत्वपूर्ण निर्देशन र सुझाव पनि दियो ।
महिला तथा सामाजिक समितिको कार्यक्षेत्र तथा दायित्व आफैमा महत्वपूर्ण पनि छ । किनकि यो समितिले बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग जस्ता महत्वपूर्ण जिम्मेवारी बोकेका संस्थाको काम कारवाहीको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी पाएको छ ।
तर, कोभिडकालको आठ महिना नबित्दै समितिले एउटा आरोप खेप्यो । यो आरोप हो, एनजीओ/आइएनजीसँग सघन सम्पर्क । यो आरोपलाई समितिका पदाधिकारी र समितिका सदस्य सांसद्हरूले समेत स्वीकार गरेका छन्। कोभिडकाल सुरुवातसँगै यो समितिले सिविन नेपाल, नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआइ) जस्ता गैरसरकारी संस्थासँग सहकार्य गरेको थियो ।
सहकार्यपछि यी गैरसरकारी संस्थाले समिति सदस्य सांसद्हरूलाई मास्क, स्यानीटाइजर जस्ता चिजविजहरु वितरण गरेको समितिमा देखिन्थ्यो । समितिका छलफलहरू एनजीओ÷आइएनजीओका प्रतिनिधिसमेत सहभागि हुन्थे। यतिसम्म कि फिजिकल छलफलमा पनि एनजीओ÷आइएनजीओ प्रतिनिधिले सुरुवातमै आफ्नो मन्तब्य दिएको देखिन्थ्यो। समितिका एक पदाधिकारीका अनुसार एउटा गैरसरकारी संस्थाले त समितिलाई जुम आइडीसमेत उपलब्ध गराएको थियो । उक्त आइडीबाटै समितिले भर्चुअल छलफल चलाउने गरेको थियो।
सधैँ निष्पक्ष हुनुपर्ने संसदीय समितिले एनजीओ/आइएनजीओबाट सहयोग लिनु कत्तिको सही हो ?
संसद् सचिवालयको बाटोबाट संसदीय समितिले एनजीओ/आइएनजीओसँग सहकार्य गर्दा नराम्रो नहुने संसदीय समिति पूर्वसचिव सुदर्शन कुइँकेल बताउँछन् । तर, समितिहरूले आफूखुसी एनजीओ/आइएनजीओसँग सहकार्य गरिरहेका छन् भने त्यो हाम्रो नहुनेसमेत उनको भनाई छ ।
अर्कोतर्फ संसद् युनडीपीसँग मात्र सहकार्य गरिरहेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् । उनका अनुसार पछिल्लो समय संसदीय समितिले आफुखुसी एनजीओ/आइएनजीओसँग सहयोग लिने अभ्यासलाई सुधार गर्नुपर्ने देखिन्छ ।
यही विषयमा केन्द्रीत रहेर हामीले महिला तथा सामाजिक समितिका केही सदस्य सांसद्, संसद् सचिवालय र विज्ञसँग धारणा माग्यौँ । उनीहरू संसदीय समितिमा एनजीओ/आइएनजीको उपस्थिति र त्यसमाथि आफ्नो धारणा फोनबाटै यसरी राखे :
अमृता थापा, सांसद्, नेकपा
हाम्रो समिति (महिला तथा सामाजिक) त एनजीओ/आइएनजीओ नै हेर्ने भएकाले यो (सहकार्य) अनौठो भएन । तर, त्यो एकद्वार प्रणाली चाहीँ हुनैपर्छ । केही त्यस्ता सूचनाहरू जसमा केही विषयहरू राज्यले मात्र थाहा पाउनुपर्ने हुन्छन् । त्यस्ता विषयहरूमा एनजीओ/आइएनजीओलाई प्रवेश गर्न दिनु भएन ।
कोभिडपछि एनजीओ/आइएनजीओसँग सहकार्य गरेर भएका धेरै छलफलमा म त सहभागि भइन । मलाई आवश्यक पनि लागेन । धेरै छलफल भर्चुअल पनि भए । समितिमा सबैले त्यही (मास्क, स्यानिटाइजर लगायत) दिने गर्दाखेरी अलिकति बढी जस्तो पनि भएको थियो ।
समितिको सन्दर्भमा भन्दा पनि अलि रिमोट एरियामा बाँढिएको (मास्क, स्यानिटाइजर लगायत) भए अलि ठिक हुन्थ्यो कि । एनजीओ/आइएनजीओसँग सहकार्य गर्ने विषयमा हाम्रो पहिल्यैदेखि स्पष्ट धारणा छ । त्यो के हो भने एकद्वार प्रणालीबाट सहकार्य हुनुपर्छ । सहकार्य नै नगर्ने भनेको होइन । एनजीओ/आइएनजीओ पनि राज्यका सहयोगी अंग नै हुन् ।
तर, उसले आफ्नो इन्ट्रेस्ट भन्दा बाहिर निस्कनु सक्नुपर्छ । यो त एउटा सिंगो व्यवस्थापिकाको सवाल भएका हुनाले त्यसलाई चाहीँ कहाँ आवश्यक हो/होइन पहिल्याउनुपर्छ । गभरमेन्टले नै यसको यो-यो क्षेत्रमा आवश्यक्ता हो र यो-यो क्षेत्रमा आवश्यक्ता होइन भनेर फाइनल गरेपछि व्यवस्थापिकाभित्रको समितिहरूमा जानुपर्छ ।
हिरा गुरुङ, सांसद्, नेपाली कांग्रेस
संसदीय समितिमा एनजीओ/आइएनजीओ छिर्न हुँदैन । तर, अहिले केही एनजीओ/आइएनजीओहरू समितिको अनुमतिमा कार्यक्रम चलाउने छलफल गराउने काम गरिरहेका छन् । त्यहाँ छिर्न हुने वा नुहुने कुरा जो छ त्यसमा मेरो धारणा प्रष्ट छ । संसदीय समिति स्वायत्त भएकै राम्रो हो ।
एनजीओ/आइएनजीओको प्रवृति के देखिएको छ भने सांसद्हरूलाई परिचालन गर्ने त्यसमा आफूले इच्छाएको कुरा परिपूर्ति गर्ने चाहानाले उनीहरू संसद्मा छिरेको देखिन्छ । हाम्रो समितिले (महिला तथा सामाजिक) पनि एनजीओ/आइएनजीओसँग सहकार्य गर्यो होला । यसरी कार्यक्रम चले होलान् । यस्ता कार्यक्रममा मलाई पनि खबर गर्नुभएको थियो । तर, म यो समितिको सदस्य भए पनि यस्ता कुनै पनि छलफलमा सहभागि हुन सकिन । म त गाउँ आएर बसेकी छु ।
केही महिनाअघि कुन-कुन एनजीओ/आइएनजीओसँग मिलेर साथीहरूले मिटिङ र जुम मिटिङ गरिएको छ भनेर मलाई पनि खबर गर्नुभएको थियो । म गाउँमा भएको कारणले त्यसमा सहभागि हुन सकिन । संस्थाहरूले स्यानिटाइजर र मास्क दिएर समितिको आवश्यक्ता परिपूर्ति हुने हो र ? संस्थाले चलाउने हो भने त सांसद्हरूलाई स्यानिटाइजर र मास्क किन बाँढ्नु पर्यो ? गाउँका गरिब जनताले मुखमा लाउने एउटा मास्क नै पाएको छैन, हातमा लगाउने स्यानिटाइजर पाएको छैन नि । बरु त्यस्तालाई गएर वितरण गर्नु नि । समितिको मिटिङमै ल्याएर सांसदहरूलाई बाँढ्नुपर्ने के छ र ? एनजीओ/आइएनजीओ आएर समितिसँग सहकार्य गरेर अगाडि बढ्ने भनेको मलाई ठिक लाग्दैन ।
खेमप्रसाद लोहनी,सांसद्, नेकपा
हो, हामीले (महिला तथा सामाजिक समिति) पनि सहकार्य गरिरहेका छौँ एनजीओ/आइएनजीओसँग । उहाँहरू एनजीओ/आइएनजीआसँग एक्सपर्ट छ । एकपर्ट नभए उनीहरूले एक्सपर्ट हायर गरेर ल्याउँछ, बोलाउँछ । उहाँहरूबाट हामीलाई नयाँ-नयाँ कुरा जानकारी तथा सूचना दिने काम हुन्छ । यस ढंगले उहाँहरूलाई अध्ययन नै गर्न सहयोग गर्नुहुन्छ । त्यसकारण एनजीओ/आइएनजीओसँग हाम्रो सहकार्य राम्रो छ, हाम्रो समितिले सहकार्य गरिरहेको छ ।
संसदीय समितिले एनजीओ/आइएनजीओसँग सहकार्य गर्दा राम्रै हुन्छ ठिकै हुन्छ भन्ने लाग्छ मलाई । उहाँहरूले कुनै विषयमा गोष्ठी गराउनुहुन्छ । अन्तक्रिया पनि गराउनुहुन्छ । कुनै विषयमा जानकारी गराउने खालका कार्यक्रम पनि गराउनुहुन्छ । प्रचलित अवस्थामा रहेको देशको कानुन होस् या विदेशको कानुन होस् त्यसबारेमा पनि जानकारी गराउनुहुन्छ । जसका कारण थप सूचना प्राप्त हुन्छ ।
अर्को कुरा एनजीओ/आइएनजीओ पनि देशको सहयोगी संस्था हो नि । राष्ट्रको कानुन निर्माण गर्ने होस् या सामुदायिक विकास गर्ने होस्, मानविय विकास गर्नेमा नै किन नहोस् यस्ता विषयमा पनि एनजीओ/आइएनजीओको भूमिका छ । हामीले त्यसलाई परिचालन गरिरहेका छौँ । उहाँसँग बसेर सहकार्य गर्नु राम्रै हुन्छ ।
कतिपय संसदीय समितिको व्यवस्थापन एकोहोरो गयो भने मनोटोनस् हुन्छ नि । फरकफरक ठाउँमा फरकफरक व्यक्तिसँग फरक-फरक व्यवस्थापनमा बसेर हामी जुन काम गछौँ त्यसले पनि फरक पन दिन्छ । त्यसले ताजा पन पनि दिने गर्छ । हामी नागरिकका अगुवा हौँ त्यसैले हामी तिनिहरुको बहकाउमा आउँदैनौँ । तिनिहरुको बहकाउमा लाग्दैनौँ । तर, सहकार्य गर्न सक्छौँ हामी । एनजीओ/आइएनजीओले 'मिसयुज' गर्ने होइन कि उहाँहरूले पनि हामीलाई सहयोग गर्ने हो । हामी 'मिसयुज' हुँदैनौँ हामी त्यति कमजोर छैनौँ ।
नन्दकुमार रोका क्षेत्री, सांसद्, नेकपा
एनजीओ/आइएनजीओसँग सहकार्य गरेर काम गरेकै हो । यसमा हाम्रो भनाईभन्दा पनि सभापतिजीले के के गर्नुभएको छ भन्नुहोला । यो कुराबारे विस्तृत जान्नेभए सभापतिजीसँगै बुझ्नुहोला । एनजीओ/आइएनजीओले देशका लागि जनताका लागि राम्रो काम गर्छन् भने तिनलाई समर्थन गर्ने हो ।
तर, एनजीओ/आइएनजीओ जहाँ जोसँग काम गरे पनि नेपाल सरकारको अन्डरमा नै काम गर्नुपर्छ भन्ने हो । एनजीओ/आइएनजीओले आफैले काम गर्ने आफ्नै तरिकाले काम गर्ने भएकाले अफ्ठ्यारो भएको हो । तर, सरकारको मातहतमा रहने र जनताको हितमा काम गर्छन भने ठिकै हो ।
सुदर्शन कुइँकेल, पूर्वसचिव, संसदीय समिति
संसद् सचिवालयले एनजीओ/आइएनजीओसँग सहकार्य गर्ने एग्रिमेन्ट गरेको छ भने सजिलै मिल्यो । तर, समितिहरूले आफूखुसी एनजीओ/आइएनजीओसँग सहकार्य गरिरहेका छन् भने त्यो हाम्रो होइन ।
सरकारी बजेटको अभावका कारण संसद् सचिवालयले सहकार्य गर्न आएका एनजीओ/आइएनजीओलाई यो-यो गरिदे न त भन्न सक्छ । यसो गर्दा ठिकै हो, राम्रै हो । यसका लागि अनेक प्रक्रियाहरू पुरा गर्नुपर्छ । सभापतिदेखि महासचिवसम्म यो प्रक्रियामा जोडिनुपर्छ ।
विदेशी संस्थाहरूले संसद् भवन बनाइदिन्छु भनेका थिए तर यसलाई विदेशी लगानीमा होइन हाम्रै लगानीमा बनाउनुपर्छ भनेर यत्रो वर्ष रोकेर अहिले सुरु भएको छ । व्यवस्थापिकामा यस्ता कुरा हुन्छन् । संसद्सँग पैसा हुँदाहुँदै एनजीओ/आइएनजीओसँग सहकार्य गर्नु त राम्रो कुरा त होइन ।
रोजनाथ पाण्डे, प्रवक्ता, संसद् सचिवालय
समितिहरूले निर्णय गरेरै एनजीओ/आइएनजीओसँग सहकार्य गरेको जस्तो मलाई लाग्दैन ।
औपचारिक अनौपचारिक कार्यक्रम गर्दा समितिलाई एनजीओ/आइएनजीओले सहयोग गरेको हुनसक्छ ।
हाम्रो संघीय संसद्को सचिवालयले युएनडीपीसँग सहकार्य गर्ने गरी २०२२ सम्मको लागि संसद् सहयोग परियोजना चलाइरहेको छ । यस बारेक अरु एनजीओ/आइएनजीओको सहयोग लिने कि नलिने भन्ने विषय बहसमै छ । तर, आफुखुसी एनजीओ/आइएनजीओसँग सहकार्य गर्ने विगतदेखिको अभ्यासमा सुधार गर्नुपर्ने देखिन्छ ।
यो पनि :

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया