मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

एमाले डडेलधुरा अध्यक्षसहित जिल्‍ला कमिटीका दुई तिहाइ सदस्‍य नेकपा एकीकृत समाजवादीमा प्रवेश

कैलाली - गत जिल्ला अधिवेशनमा एमालेको डडेल्धुरा अध्यक्षमा निर्वाचित डा. तारा जोशीसहित जिल्‍ला कमिटीका ३५ जना सदस्‍य नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । लामो समयसम्म कतै पनि नखुलेका डा. जोशी बुधबार अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित ५१ सदस्यीय जिल्‍ला कमिटीका ३५ जना नेकपा एसमा प्रवेश गरेका छन् ।

एमालेमा देखिएको व्यक्तिवादी, सिद्धान्तहीन र अराजकतावादी सोचकविरुद्ध आफूहरू समाजमावादीमा लागेको उनले बताए । नेता डा. जोशीले आफूसहितको सम्पूर्ण टीम समाजवादीमा क्रियाशील हुने बताए । जोशीले २६ वर्षको उमेरमै ०५४ सालतिर एमालेको जिल्ला नेतृत्व लिएका सम्हालेका थिए । पछिल्ला दुई अधिवेशनमा पनि उनी अध्यक्ष छानिएका थिए । गत प्रदेश सभा निर्वाचनमा पनि एमाले भित्रको अन्तरघातका कारण उनी ३५६ मतले पराजित भएका थिए ।