शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

गैरआवासीय नेपाली संघ सरकारविरुद्ध मुद्दामा

काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्र मन्त्रालयको निर्देशनमाथि उत्प्रेषणको आदेश माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले संसीर ३ मा संघलाई पत्र पठाएर समयमा अन्तर्राष्ट्रिय महाधिवेशन हुन नसक्दा संघको वर्तमान कार्यसमिति अवैध भैसकेको हुँदा संरक्षक समितिमार्फत् निर्वाचन गराउन निर्देशन गरेको थियो । 

गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटमा विवादका कारण गत अक्टोबरमा तय भएको महाधिवेशन पछाडि सरेको थियो । 

अक्टुबरमा संघको विश्व सम्मेलन तथा नेतृत्व चयन हुनुपर्नेमा ६५ प्रतिशत (अन्तर्राष्ट्रिय महाधिवेशन) प्रतिनिधि छनौटमा विवाद भएको थियो । संघको विधान अनुसार, ६५ प्रतिशत प्रतिनिधि राष्ट्रिय समन्वय परिषद् (एनसीसी)ले सिफारिश गरेर पठाउने व्यवस्था छ भने २५ प्रतिशत राष्ट्रिय समन्वय परिषद्को अधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । त्यस्तै बाँकी १० प्रतिशत महिला, युवा सहित गैर आवासीय नेपाली आन्दोलनमा योगदान गरेकाहरूमध्येबाट राष्ट्रिय समन्वय परिषदबाट सिफारिश गरेर पठाउने विधानमा व्यवस्था छ । 

यसपटक आइसीसीको निर्वाचन घोषणा भइ उम्मेदवारी घोषणा भैसकेको अवस्थामा उम्मेदवारहरू समेतको संलग्नतामा कतिपय राष्ट्रिय समन्वय परिषद्हरूबाट प्रतिनिधि चयन भएको, कुनै राष्ट्रिय समन्वय परिषद्ले ६५ र २५ प्रतिशत नछुट्याइ प्रतिनिधिहरूको सूची पठाएको भन्दै विवाद भएको थियो । जसका कारण एनआरएनए आइसीसीको महाधिवेशन प्रभावित भएको हो । 

तर संघका अध्यक्ष कुमार पन्तले भने संघले अन्तर्राष्ट्रिय महाधिवेशन गराएर निर्वाचित नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्न आफूले प्रक्रिया शुरु गरिसकेको र परराष्ट्र मन्त्रालयले अनावश्यक हस्तक्षेप गरेकाले अदालत जानु परेको बताएका छन् । 

यो पनि पढ्नुहोस्:

एनआरएनए कार्यसमिति निष्कृय, संरक्षक परिषद्लाई जिम्मा लगाउन परराष्ट्रको निर्देशन

परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए अध्यक्ष  पन्त अदालत जाने, निर्वाचन प्रक्रिया नरोक्ने