शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

बागमतीका ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लियपनाको समस्या

काठमाडौँ - बागमती प्रदेशको खेतीयोग्य जमिनको ६० प्रतिशत माटोमा अम्लियपनाको समस्या देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले गरेको परीक्षणका क्रममा अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको हो । 

रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन सक्ने प्रयोगशालाका उपसचिव डा‍. जनार्दन खड्काले बताए । 

उनले कृषि चूनको मात्रा यकिन गरेर अम्लियपनाको समस्या समाधान गर्न सकिने बताए । त्यस्तै माटोमा ३ देखि ५ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्नेमा १ प्रतिशत मात्रै देखिएकाले पनि समस्या भएको उनको भनाई छ । उनले व्यवसायिक कृषि गर्ने किसानले समय समयमा माटो परीक्षण गराउनुपर्ने सुझाव दिए । 

उत्पादन बढी लिन र प्रयोग गर्न पनि सजिलो हुने भएकाले किसानले रासायनिक मलको प्रयोग अत्यधिक गर्ने गरेका छन् । जसले गर्दा माटोको ऊर्वरशक्तिमा ह्रास भई उत्पादनमा कमी आउँदै गएको प्रयोगशालाको भनाई छ ।