सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

नेपालीलाई साइबर शिक्षित बनाउन गाेजी रित्याउँदै 'स्तुपा'

काठमाडौँ -  बेलायत तथा अन्य ५० भन्दा बढी देशका सरकारको साइबर सुरक्षाको प्रोजेक्टमा काम गरेका एक युवाले नेपालको न्युज साइट हेर्दै गर्दा एउटा सामाचार देखे । समाचारको शीर्षक थियो  'मोबाइलको प्रयोगले मानव तस्करलाई सजिलो' । बेलायत जस्तो मुलुकमा आएर करिब १५ वर्ष काम गर्दै गर्दा उनले नेपालको बारमा यहाँको प्रविधिमा आएको सुरक्षाको बारेमा त्यति गहिरो तरिकाले सोचेका थिएनन् । उनलाई लाग्यो, अब अरूको देशको मात्र होइन आफ्नो देशको बारेमा समेत केही सोच्ने बेला आएको छ । उनी थिए, पाटनबाट बेलायत पुगेका आशिष श्रेष्ठ ।

 केही दिन सोचेपछि आशिषले यसको पनि उपाय निकाले, एउटा कम्पनी दर्ता गर्ने जसले बेलायतमा व्यवसाय गराेस् र नेपालमा भने ब्यापार भन्दा च्यारीटीलाई जोड दिने । यो उपाय उनले आफ्नो साथी चेहेन लामासँग सल्लाह गरे र स्तुपा इन्फोसेक नाम फाइनल गरे ।

स्तुपाको उद्देश्य पनि स्तुपा जस्तै रहेको आशिष सुनाउँछन्। स्तुपा तलदेखि माथि सानो हुँदै कुनै बिन्दूमा पुग्छ र स्तुपा इन्फोसेकले पनि तलदेखि प्रविधि क्षेत्रको वा साइबर सुरक्षामा सबैमा सजगता बढाउँदै लैजाने ।आशिष श्रेष्ठ

इन्टरनेटको दुनियाँमा हुने जोखिमलाई न्यूनीकरण गर्न  विश्वका विभिन्‍न देशमा काम गरिसकेका आशिष र नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तारको काम गरिरहेका चेहेनले यही बढ्दाे साइबर जोखिम कम गर्नमा भविष्य देखे र उनीहरूले यही उद्धेश्यसहित स्तुपा इन्फोसेकको स्थापना गरे।

बेलायतपछि आशिषले नेपालमा पनि स्तुपा दर्ता गरे । संस्था दर्ता भएपछि साइबर सचेतना फैलाउने उद्देश्यले आशिष र उनको टिम अहिले देश दौडाहामा छन् । 'नेपालमा साइबर सुरक्षा तथा यसको अवस्था कस्तो पाउनुभयो ?' भन्ने प्रश्नमा उनी भन्छन्, 'प्रविधिको विकास त नेपालमा अति नै छिटो भएको छ तर यसको तुलनामा मानिसमा यसको बारेमा चेतना निकै कम छ ।'

डिजिटल वेलविङ

 एक दिन नेपालको एक प्रतिष्ठित आइटी कम्पनीका प्रमुखले आफ्नो कम्पनी फायरवाल तथा एन्टी-भाइरसले सिक्योर भएको भन्दै मख्ख परेको आशिष सम्झन्छन् । बेलायतमा काम गर्दासमेत हरेक दिन नयाँ साइबर क्षेत्रमा नयाँ सुरक्षा चुनौती रहँदा यहाँ फायरवाल र एन्टीभाइरस जस्ता कुराले ढुक्क बसेको देख्दा आशिषलाई आश्चर्य लागेको थियो ।

नेपाली समाज कस्तो स्थितिमा रहेको छ भने कुनै युवतीको यवुकसँग प्रेम बस्यो र बिछोड हुँदा केटाले युवतीको गोप्य तस्विर सार्वजनिक गर्यो भने युवती नै सबै दोषको भागिदार बन्‍न पर्छ ।  परिवारदेखि समाज सबैले युवतीलाई नै दोषी  देख्‍छ । सामाजिक सञ्‍जालका कुराले समेत कतिपयलाई डिप्रेसनमा पुर्‍याउने गरेको छ । यस्तोमा हामीले डिजिटल वेलविङको कुरा कसरी गर्न सकिन्छ? आशिष प्रश्न गर्छन् ।

डिजिटल वेलविङको कुरा गर्दा पासवर्डले नै बैंक, सामाजिक सञ्‍जाल लगायतका माध्यम सुरक्षित राख्‍ने गर्छ । हामीसँग भएको डाटा हामीले एउटा पासवर्डले सुरक्षित गर्ने हो । सबैभन्दा पहिला हामीले आफ्नो पासवर्डको सुरक्षा गर्नुपर्छ । आफ्नो अकाउन्ट सुरक्षित गर्ने हो । एउटा मानिसको औसतमा २६ अकाउन्ट हुन्छ। यतिका अकाउन्टको सुरक्षा लागि सबैका पासवर्ड सम्झिनु कठिन हुन्छ । यसको लागि कुनै एक सुरक्षित पासवर्ड म्यानेजरको प्रयोग गर्नले पनि धेरै सजिलो र सुरक्षित रहन सकिन्छ ।

सबैभन्दा पहिला अकाउन्टको सुरक्षा गर्ने भनेको पासवर्डले हो तर नेपालमा अधिकांसले सजिलोको लागि आफ्नो पासवर्ड नै 'नेपाल१२३४' जस्ता पासवर्ड राख्‍ने गरेका छन् । आइएसपी कम्पनीले समेत इन्टरनेट जडान गर्दा सजिलोको लागि यस्ता पासवर्ड राखेका छन् । अब भन्नुस सबै ताल्चामा एउटै साँचो कत्तिको भयानक हुन्छ? डिजिटल दुनियाँमा पासवर्ड नै सबैभन्दा पहिलो सुरक्षाको उपाय हो । 

किन त स्तुपा नै ?

आशिषले कम्पनीको नाम सोच्दै गर्दा उनलाई सकेसम्म 'क्याची' र आकर्षक नाम चाहिएको थियो। नेपाल सुहाउँदो नाममा उनलाई स्तुपाले लोभ्यायो । यसको नामअनुसार उनले कम्पनीको मोटो 'भिजन वियोन्ड प्रोटेक्सन' बनाए । स्तुपाले अब साइबर सुरक्षा र यसको बारेमा मानिसमा चेतना फैलाउने मुख्य उदेश्य बनाए । यस अनुरुप आशिष र उनको टिम नेपालमा आएर आफ्नो तर्फबाट नेपाललाई साइबर सुरक्षा चेतनशील बनाउन  हरसम्भव प्रयास गरिरहेको छ ।

नेपालमा के गर्दै छ  स्तुपा ?

स्तुपाले नेपालमा विशेषत : साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने रहेको आशिष बताउँछन् । हाल स्तुपाले हाल 'चाइल्ड सेफ नेट' काम गर्दै आएको छ । अब  माइती नेपालसँग मिलेर काम गर्ने योजनामा रहेको आशिष बताउँछन् । पछिल्लो समय प्रविधिको प्रयोग गरेर मानव तस्करी अत्यधिक बढेपछि मानिसमा यसप्रति सचेतना फैलाउदै हिँडेका छन् ।

बेलायतमा बसेर साइबर सुरक्षाको प्रोजेक्टमा काम गरिरहेका श्रेष्ठ नेपाली समाजमा साइबर जोखिम बढ्दै गरेको र यसका बारेमा  नीति निर्माण तहमै गम्भीरता नदेखेपछि नेपालमै यही क्षेत्रमा काम गर्ने योजनासहित फर्किएकाे बताउँछन् । नेपाल आएसँगै चेहेन र आशिषले यहाँका सरकारी कार्यलयमा गएर साइबर सुरक्षाको बारेमा जानकारी लिएर यसको सुरुवात गरेका थिए । चेहेन लामा

सरकारी कार्यालय तथा त्यहाँ कार्यरत कर्मचारीहरूमा साइबर सचेतता निकै कम रहेको उनीहरूको अनुभव छ । आफ्नो देशलाई ह्याकरहरुबाट जोगाउन अरु देशले भने साइबर सुरक्षाका लागि ह्याकरहरुको प्रयोग गर्दछन्। नेपालमा के छ भन्ने कुरा भने आशिषलाई त्यति जानकारी न रहेको बताउँछन्। तर आफ्नो देशको सुरक्षाको लागि यो अति महत्वपूर्ण कुरा भएको श्रेष्ठ बताउँछन् । यो निकै संवेदनशील विषय हो । विभिन्न देशले तलब नै दिएर अरु देशकाे साइबर प्रणाली ह्याक गराउने गरेको आशिष बताउँछन्।

तपाईंले इन्टरनेट चलाउँदा त गुगल फेसबुक जस्ता कम्पनीले तपाईंको रूचि अनुसारको कन्टेन्ट र विज्ञापनदेखि हरेक कुराको विश्लेषण गरेको हुन्छ। यहाँ त तपाईंको जन्मदेखि राष्ट्रिय परिचयपत्र लगायतको जानकारी सजिलै अरूको हातमा हुन्छ । तपाईंलाई तपाईको बारेमा जति जानकारी हुन्छ त्यो भन्दा धेरै  तपाईंको डाटा हेर्नेलाई थाहा हुन्छ । यो  संवेदनशील विषय हो । सरकारले नेपालको डाटा अन्त जानबाट रोक्नुपर्छ यसको लागि सरकारी क्षेत्रमा समेत आफूहरूले यससम्बन्धी अभिमुखी कार्यक्रम सुरु गरेको आशिष बताउँछन् ।

केहि समयअघि प्रयोगकर्ताको डाटा क्याम्ब्रिज एनालाटिका फेसबुकको लाखौँ डाटा संकलनको मुद्दा उठेको थियो, तर हामीकहाँ केही समयअघि फुडमान्डुको हजारौँ डाटा सार्वजनिक हुँदासमेत नेपालमा यसको बारेमा खासै कुरा उठेन। नेपालमा डाटा सुरक्षालाई निकै हल्का रूपमा लिइएको आशिषको अनुभव  छ । मैले जति ठाउँमा गएर यसको बारेमा कुरा सनेँ, त्यहाँका हरेकले यस्ता डाटालाई हल्का रूपमा लिएको देखेँ ।  यसरी हजारौँ प्रयोगकर्ताको डाटा सुरक्षा सरकार तथा नागरिकले चुइँक्क नबोलेको देख्दा आशिष आश्चर्यमा परे ।

कसरी गर्छ त स्तुपाले काम ?

स्तुपाले गर्ने काम भनेको पहिलो चरणमा साइबर सुरक्षामा ग्राउन्ड लेभलबाट साइबर सुरक्षामा सचेतता फैलाउने कार्य गर्नेछ । प्रविधिमा नेपाल जति अगाडि छ तर यसको दुरूपयोग भने त्यति नै बढ्दै गएको देखिन्छ । नेपालमा रहेका गैरनाफामुलक संस्थासँग सहकार्य नै स्तुपाको पहिलो उदेश्य हुने आशिष बताउँछन् ।

स्तुपाले योबाहेक मानिसमा डिजिटल सचेतता जगाउने काम पनि गर्न लागेको आशिष बताउँछन् । 'पहिलो फेजमा हामी  स्कुल, कलेज तथा समाजमा डिजिटल प्रयोगसम्बन्धी अवेरनेसमा काम गर्छौ ।  त्यसपछि हामी सरकारमा रहेका मानिसहरूलाई यसबारेमा जानकार बनाउँछौँ' आशिषले बताए । फेज फेजका कार्यक्रम बनाएर यसप्रति सचेत गराउने आशिषको योजना रहेको छ ।

स्तुपाको आयस्रोत

स्तुपालाई चाहिने खर्च कसरी चल्छ त? भन्ने प्रश्नमा आशिष यसको लागि बेलायतमा व्यवसाय गरिरहेको जवाफ दिन्छन् । बेलायतमा गरिरहेको साइबर सुरक्षासम्बन्धी कामबाट आएको रकमको केही प्रतिशत नेपालमा च्यारिटी गर्ने उनीहरूको योजना छ ।  बेलायतको  पैसाले नपुगेमा  आफ्नै पकेटसमेत खर्च गर्ने आशिषको तयारी छ ।

'कमाउन त १५/१६ वर्ष बेलायतमा कमाइयो तर अब भने आफ्नो देशप्रतिको जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ भन्ने लागेको छ,'आशिष बताउँछन् । नेपालमा स्तुपाले  साइबर सचेतना फैलाउने काममा जति नै खर्च लाग्ने भए पनि आफ्नै गोजीसमेत रित्याउन पछि नपर्ने आशिष र उनको टिमको प्रतिबद्धता रहेको छ।