बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रित हुन दाहालको अपिल

फाइल तस्‍बिर

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्ण रूपले केन्द्रित हुन सार्वजनिक अपिल गरेका हुन् ।

माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि माओवादीले ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी पनि उनले गराएका छन् । महाधिवेशनपछिको नयाँ माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाहालले जनाएका छन् ।

मालेमावादी विश्वदृष्टिकोणको आलोकमा माओवादीद्वारा सञ्चालित महान् जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको दाहालले उल्लेख गरेका छन् ।