फिल्म बनाउँदै हुनुहुन्छ ? रिलिजको पालो कहिले आउला सोच्नु भएको छ ?

काठमाडौँ - महामारीले दुई वर्ष फिल्म रिलिज नहुँदा हार्ड डिस्कमा थन्किएका फिल्मको सूची लामो हुँदै गएको छ । तर चलचित्र निर्माणका लागि इजाजत लिने निर्माताको कुनै कमी छैन । चलचित्र विकास बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोलाका अनुसार गत साउनयता फिल्म निर्माणका लागि इजाजत लिने फिल्मको संख्या ५५ छ । यसै गरी रैखालाले यही अवधिमा १७ फिल्मले सेन्सर सर्टिफिकेट लिएको जानकारी दिएका छन् ।
सरकारले महामारीका कारण लगाएका प्रतिबन्ध फागुन १ देखि खुकुलो पार्ने निर्णय गरेसँगै थप फिल्म निर्माणका लागि हौसिने पक्का छ । जाडो मौसम सकिएकाले यही बीचमा सुटिङमा निस्कने फिल्मको संख्या उल्लेख्य रूपमा वृद्धि हुनेछ । तर बनेर तयार भएका फिल्मले रिलिजका लागि कम्तीमा एक वर्ष कुर्नुपर्ने देखिएको छ ।
फिल्म रिलिज क्यालेन्डरलाई व्यवस्थित बनाउने भन्दै नेपाल चलचित्र संघले हप्तामा एउटा मात्र नेपाली फिल्म रिलिज गर्ने सम्झौता गरेका छन् । यदि यो व्यवस्था भोलिका दिनमा पनि निरन्तर रहने हो भने वर्षभरिमा जम्मा ५२ फिल्म रिलिज हुन्छन् । यसबाहेक नेपाली निर्माताले विदेशका ठूला फिल्मका लागि पनि हप्ता छाड्दै आएका छन् । खासगरी बलिउडका पनि ठूला फिल्म महामारीकै कारण रोकिएकाले आउँदा दिनमा ती फिल्म नेपालमा लाग्दा नेपाली निर्माताले आफ्नो फिल्म सारेको घोषणा गर्नु कुनै अनौठो मानिनेछैन ।
इकागजले अनौपचारिक रूपमा जम्मा गरेको तथ्यांकअनुसार ७० हाराहारी फिल्म जतिबेला पनि प्रदर्शनका लागि तयार छन् । हप्तामा एउटा मात्र नेपाली फिल्म प्रदर्शन गर्ने हो भने कम्तीमा डेढ वर्षमा अहिले तयार भएका फिल्म प्रदर्शन भएर सकिन्छन् । वर्षाको समयमा पनि नेपाली निर्माताले आफ्ना फिल्म रिलिज गर्न हिच्किचाउने गरेका छन् । यस हिसाबले कम्तीमा असार र साउनमा फाट्टफुट्ट मात्र फिल्म रिलिज हुनेछन् । यसरी एक दुई महिना र बीचमा बलिउड फिल्मका लागि ठाउँ जोड्दै जाने हो भने अहिले तयार भएका फिल्म रिलिज सक्न नेपाली निर्मातालाई दुई वर्ष लाग्छ ।
निर्माता संघले केही समयअघि चलचित्र विकास बोर्डलाई राहतका लागि बुझाएको तथ्यांकमा ३५ वटा फिल्म पोस्ट प्रडक्सनमा रहेको जनाएको छ । ७० मा यो संख्या थप्दा सयभन्दा बढी हुन आउँछ । सयवटा फिल्म हरेक हप्ता एउटाको दरले प्रदर्शन गर्ने हो भने २ वर्ष ढुक्कले बित्छ । महामारी पहिले एकै मितिमा चार वटासम्म नेपाली फिल्म प्रदर्शनमा आउने गरेका थिए । तर एकै मितिमा लाग्ने कुनै पनि फिल्मले उत्साहजनक व्यापार गर्न सकेका थिएनन् ।
भोलिका दिनमा ‘एक हप्ता एक नेपाली फिल्म’को नियम लागू नहुने निश्चित छ । यसो हुँदा पनि नेपाली फिल्मले प्रदर्शनको रहर मात्र पूरा गर्नेछन् । फिल्म रिलिजको यो भद्रगोल भोलि कसरी मिल्छ ? यसको कुनै सिधा उत्तर पाउन गाह्रो छ । तर निर्माता बचाउने हो भने पेसागत संघसंस्था यो मुद्दालाई लिएर गहन छलफल गर्न आवश्यक छ ।
र यो पनि
'हार्ड डिस्क'मा थन्किएका छन् ५० फिल्म, दुई अर्ब जोखिममा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया