सिनेमा

सिनेमा

'हार्ड डिस्क'मा थन्किएका छन् ५० फिल्म, दुई अर्ब जोखिममा

सामीप्यराज तिमल्सेना |
माघ २४, २०७८ सोमबार १३:१४ बजे

काठमाडौँ- रिलिजको सँघारमा रहेको बेला ‘म यस्तो गीत गाउँछु २’ले तेस्रो पटक प्रदर्शन मिति सार्न बाध्य भयो । लगभग दुई वर्षअघि नै निर्माण सकेर प्रदर्शनका लागि प्रचार प्रसारसमेत गरेको फिल्मले दुई वर्षअघि फागुन २३ मा प्रदर्शन हुने घोषणा गरेको थियो तर यही मितिमा बलिउड फिल्म ‘बागी ३’ आएपछि यो फिल्म एक हप्ता सरेर फागुन ३० मा पुग्यो । तर प्रदर्शन हुन दुई दिन बाँकी रहँदा महामारी फैलने संकेत पाएपछि यो फिल्म सर्‍यो ।

यसरी पहिलो र दोस्रो महामारीका कारण प्रदर्शन हुन नपाएको यो फिल्मले माघ १९ मा तेस्रो पटक रिलिजका लागि हिम्मत जुटाएको थियो तर यहाँ पनि कोभिड १९ ले यो फिल्मलाई छाडेन । पुसको अन्तिम साताबाट नै ओम्रिकोन आएपछि फेरि यो फिल्म सर्‍यो । यस बीचमा निर्माण टिमले थप एक गीतमा लगानी गरिसकेको थियो । निर्देशक सुदर्शन थापाका अनुसार फिल्मको प्रचार गर्न उनले एउटै गीतलाई तीन भाषामा अनुवाद गरेर खिच्‍ने तयारी गरेका थिए । त्यसमध्ये नेवार र थारु भाषामा उनले गीत खिचिसकेका छन्, तामाङ भाषामा भने खिच्‍न बाँकी छ । उनले फिल्ममा प्रशस्त रकम खर्च भइसकेको बताएका छन् ।


‘मेरो फिल्ममा लगभग ३ करोड रुपैयाँ खर्च भइसकेको छ । दुई वर्षदेखि ३ करोड थन्किएर बसेको छ । आर्थिक त भइहालो मानसिक तनाव पनि थपिएको थपियै छ,’ सुदर्शनले इकागजसँग भने । दुई वर्षदेखि फिल्म थन्किएर तनाव खेप्‍ने सुदर्शन थापा प्रतिनिधि निर्माता हुन् । विगत दुई वर्षयता फिल्म तयार गरेर पनि प्रदर्शन नहुँदा यसको मार खप्‍ने निर्माताको सूची लामो छ । 

महामारीभन्दा अघि फिल्म सुटिङ सकाएको त लगानी फसेकै छ, महामारी चाँडै सकिहाल्छ भन्ने भनेर छिट्छिटो सुटिङ सकाउने निर्माता पनि अहिले चुकचुकाउन थालेका छन् । चलचित्र निर्माता संघले तयार गरेको सूचीअनुसार कम्तीमा दुई दर्जन फिल्म महामारीकै बीचमा पनि सुटिङ भएका छन् । महामारीलाई हल्का रुपमा सोच्दा उनीहरू प्रदर्शन गर्ने आधार तयार नहुँदै सुटिङमा जान हतारिएका हुन् । यसले भोलिका दिनमा हल खुल्दा पनि रिलिजका लागि दोहोरो पापड बेल्नुपर्ने अवस्था छ । एउटा त विदेशी फिल्मको रिलिज छल्ने अनि अर्को आफ्नै साथी निर्माताको फिल्मसँग जुध्‍ने । प्रदर्शकले विदेशी फिल्मलाई अलि बढी महत्व दिने परिपाटी रहेकाले यसमा पनि भोलिका दिनमा नेपाली निर्माता नै एक अर्काका फिल्मसँग जुध्नुपर्ने नियति सम्मुख छन् । 

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल विकास बोर्डले निर्मातालाई राहत दिने गरी केही कार्यक्रम लागू गरेको बताउँछन् । उनका अनुसार निर्माताले चैतभित्र प्रदर्शन हुने फिल्मलाई पोस्टर खर्चदेखि भर्चुअल प्रिन्टिङ कस्ट (भीपीसी चार्ज)सम्ममा छुट पाउनेछन् । विकास बोर्डले दिएको यो सहुलियत हिसाब गर्दा ५ लाख रुपैयाँ बराबर हुन आउँछ । तर, विकास बोर्डले दिएको यो सहुलियत हात्तीको मुखमा जिरा सरह हुने निर्माताको भनाइ छ । 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाली निर्माताको १ अर्ब ७५ करोड रुपैयाँ फसेको दाबी गर्छन् । उनले कोभिड १९ का कारण ८२ वटा सिनेमा फसेको तथ्यांक पेस गर्दै निर्माता गर या मरको स्थितिमा रहेको बताए । उनका अनुसार प्रदर्शनका लागि तयार चलचित्रको संख्या ३५ छ भने २२ सिनेमा पोस्ड प्रडक्सनमा छन् ।

यसैगरी २५ चलचित्र केही प्रतिशत सुटिङ गरेर रोकिएका छन् । उनले सरकारले मौद्रिक नीतिमा केही विषय सम्बोधन गरेको भए पनि त्यो निर्मातालाई लागि अपुग भएको बताए । उनले यसका लागि नेपाल सरकारले प्रोजेक्ट लोन र प्रोजेक्ट इन्स्योरेन्सको व्यवस्था गर्नुपर्ने माग उठाउँदै आएका छन् । योसँगै कर छुटको व्यवस्था गरे निर्मातालाई राहत हुने उनको तर्क छ ।

‘निर्मातालाई बचाउने हो भने अब हामी पुरानो नीतिमा फर्कनुपर्ने जरुरी छ । त्यो भनेको स्वदेशी चलचित्रमा पनि विकास शुल्कको कुरा हो,’ उनले भने, ‘विद्यमान टिकट दरमा २० प्रतिशत बढाउने र त्यो २० प्रतिशत बढेको रकम ६० निर्माता र बाँकी ४० हल र राज्यलाई बाँड्ने ।’ तर अहिले नै टिकटदर महँगो भएको प्रतिक्रिया आइरहेको समयमा टिकटदरमा हुने वृद्धिले फुटफलमा कति असर गर्छ ? त्यो भने विचारणीय छ । 

महामारीका कारण आर्थिक तनाव झेलिरहेका निर्माता त भइहाले, भोलि यो महामारी सकिएपछि रिलिज हुने फिल्मले बेहोर्ने क्षति पनि कम हुनेछैन । विगतका दिनमा ७५ देखि १०० हाराहारी नेपाली भाषामा मात्र फिल्म बन्दा मुस्किलले ५ फिल्मले पैसा उठाउँदै आएको इतिहास छ । यसले विगतमै पनि निर्माताको ठूलो लगानी खेर गइरहेको अनुमान गर्न गाह्रो पर्दैन । नेपाली फिल्मले किन घाटा खाइरहेका छन् भनेर न कुनै पेसागत संघ–संस्थाले विचार गरेका छन् न कुनै चासो । यसले नेपाली फिल्मलाई के महामारी ? के सामान्य दिन ? कुनै फरक पार्न भने सकेको छैन ।

यी हुन् थन्किएका फिल्म 
दोख

दयारानी
कबड्डी ४
कृष्णलीला
प्रेमगीत ३
आइएम २१ 
बोक्सीको घर 
हिँड्दा हिँड्दै 
म यस्तो गीत गाउँछु २
ए मेरो हजर ४
लप्पन छप्पन २ 
लक्का जवान
मन्त्र
प्रकाश 
नीरफूल
चिसो एस्ट्रे
चिसो मान्छे
ऐना झ्यालको पुतली
जारी 
पानी फोटो
माइकल अधिकारी 
सम्झना बिर्सना
घनचक्कर
विच्छेद
गुञ्जन

बाबरी

तिम्राे मेराे साथ
हेलो जिन्दगी
सम्हालिन्छ कहिले मन
हिजो आजका कुरा
तीन जन्तु
नालापानी 
आकासे खेती
उफ यो मन
मेरो आफ्नो 
माया बस्छ कि के हो 
झिंगे दाउ
उल्झन
काँडेतार 
पोखराकी काली 
गोर्खा वारियर २
हली 
बिए पास
म राजेश हमाल
प्रेमगञ्ज
हल्कारा 
इन्काउन्टर
यो माया कस्तो माया
मन्द मन्द 
आधा सुर 
गीत गजल
ठूलो माछा


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x