समाज

सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका-१ बाराउद्योरण गाउँका ६५ भन्दा बढी घर जले

इकागज |
बैशाख २०, २०८१ बिहीबार २१:९ बजे

फाइल तस्बिर

सर्लाही- सर्लाहीको विष्णु गाउँपालिका-१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् । 

आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । 


दिउँसो १ बजेतिरबाट सुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बारुणयन्त्र, चापाकलको पानीको सहारामा करिब चार घण्टापछि निभाइएको समेत वडाध्यक्ष ठाकुरले बताए । ‘आगो निभाउन चार घण्टाभन्दा बढी समय लाग्यो । दमकल समयमै आएको भए यति धेरै क्षति हुन्थेन । केहीबेरसम्म चापाकलकै सहारामा आगो निभाउने प्रयास भए पनि बस्ती नै सखाप गरेर छोड्यो । फुसको र खपडाको छानासहितका धेरै घर भएकाले आगो चाँडै फैलियो,' उनले भने । 

स्थानीय विनय सिंहले एउटा घरमा लागेको आगो ग्यास सिलिण्डर पड्किएपछि बस्तीमा विस्तार भएको बताए । 

नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा आगलागीपछि एक सयभन्दा बढी घरमा क्षति पुगेको बताए । उनले भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका र क्षतिको विवरण आइनसकेको बताए । 

त्यस्तै, सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आगलागी नियन्त्रणमा आएको र हाल क्षतिको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए । रासस


Author

थप समाचार
x