विश्व

ट्यांकीभित्र विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडले लगायो स्कुलमा आगो

इकागज |
जेठ ४, २०८१ शुक्रबार १५:३६ बजे

भारत - बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्यांकीभित्र एक विद्यार्थीको शव फेला परेपछि शुक्रबार बिहान आक्रोशित भिडले विद्यालयमा आगो लगाएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार घटना दिघा प्रहरीअन्तर्गतको रामजिचक क्षेत्रमा भएको हो । आक्रोशित  आफन्त तथा स्थानीयहरूले सडक अवरुद्ध गरी स्कुलमा आगो लगाएका थिए ।


स्कुल गएका करिब तीन वर्षका बालक स्कुलपछि ट्युसन लिने गर्थे । साँझ घर नफर्किएपछि परिवारले उनको खोजी गर्यो । उनको शव शुक्रबार बिहान तीन  बजे विद्यालय परिसरको ट्यांकी भित्रबाट निकालिएको प्रहरीले जनाएको छ ।

घटनाबाट आक्रोशित स्थानीयहरूले सडक अवरुद्ध गरी विद्यालयमा आगो लगाएका थिए भने घटनास्थलमा पुगेका फायर टेन्डरहरूले आगो निभाउन सफल भए ।

वरिष्ठ प्रहरी अधिकारीहरूले अनुसन्धान सुरु गरेको बताएका छन् । पाटनाका प्रहरी अधीक्षक चन्द्र प्रकाशले घटनाको विवरण दिँदै आमाबाबुले राति ढिलो जानकारी दिएपछि प्रहरी टोली घटनास्थलमा पुगी प्रमाण संकलन गरेको बताए । 

सिसिटिभीमा बच्चा स्कुलमा प्रवेश गरेको तर कुनै पनि विन्दुमा उनी स्कुल परिसरबाट बाहिर निस्किएको देख्न नसकिएकाले घटनालाई हत्याको मुद्दाका रूपमा अनुसन्धान  गर्ने प्रहरीले जनाएको छ । 

आपराधिक उद्देश्यको घटनाको प्रवृत्ति देखा परेकाले तीन जनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 
 


Author

थप समाचार
x