मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

ट्रम्पविरुद्ध दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं : ह्वाइट हाउसबाट बाहिरिनै लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएको छ । डेमोक्र्याटहरुको बहुमत रहेको अमेरिकी तल्लो सदनमा मंगलबार ट्रम्पविरुद्ध दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएको हो ।

महाअभियोग प्रस्तावमा मतदान हुनुअघि नै डेमोक्र्याट सांसदले ट्रम्पलाई राष्ट्रपति पदबाट बर्खास्त गर्न उपराष्ट्रपति माइक पेन्ससमक्ष आग्रह गरेका छन् । संसद भवनमा हिंसा भड्काएको र निर्दोष नागरिकको ज्यान लिनुमा मुख्य भूमिका खेलेको भन्दै डेमोक्र्याट सांसदहरुले ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

उपराष्ट्रपति पेन्सले ट्रम्पलाई बर्खास्त नगरे मंगलबार नै तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि मतदान हुनेछ । मतदान भएको खण्डमा भने ट्रम्पका नाममा अर्को खराब किर्तिमान कायम हुनेछ । अमेरिकी इतिहासमा अहिलेसम्म तीन जना राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपनि ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव सामना गर्ने पहिलो राष्ट्रपति बन्नेछन् ।

यसअघि महिलाहरुमाथि यौन दुर्व्यवहार र युक्रेनका राष्ट्रपतिसँगको फोन संवाद बाहिरिएपछि ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । त्यतिबेला तल्ला सदनले प्रस्ताव पारित गरेपनि रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदनले भने महाअभियोग प्रस्ताव खारेज गरेको थियो ।

डेमोक्र्याट सांसदहरुको बहुमत रहेकाले तल्लो सदनबाट यसपटक पनि महाअभियोग प्रस्ताव स्वतः पारित हुनेछ । तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा ट्रम्प आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिष्पर्धा गर्न असक्षम हुनेछन् ।

आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई प्रतिष्पर्धा गर्नबाट रोक्नका लागि नै डेमोक्र्याट सांसदले तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता गरेर मतदान प्रक्रिया अगाडी बढाएको विश्लेषण गरिएको छ ।