शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

ओली भेट्न पत्नीसहित बालकोट पुगे देउवा

भक्तपुर - प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न बिहीबार साँझ भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । 

सो अवसरमा  वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसीसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित राति अबेर बालकोट पुगेका थिए ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले सञ्चारकर्मीहरुलाई बताए । 

आज फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको उनले जानकारी दिए । 

हिजो बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि आज १० बजे पुनःबैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।