शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एमसीसी टेबल गर्न गठबन्धनका अन्य दलमा सहमति जुट्यो, के गर्ला माओवादी केन्द्र ?

काठमाडौँ– संयुक्त राज्य अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमति जुटाउन आज सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै एमसीसी सम्झौता टेबल गर्न चाहेका थिए, तर नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठकबाट निर्णय गर्न भन्दै एक दिन थप समय मागेपछि शुक्रबारको सट्टा आइतबार सारिएको थियो । 

नेकपा एकीकृत समाजवादी तथा अर्को सत्तारुढ घटक जनता समाजवादीले सम्झौता संसदमा टेबल गर्न दिने निर्णय गरेसँगै गठबन्धनमा माओवादी केन्द्र एक्लिएको छ । माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको छुट्टै बसेको बैठकमा पनि पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई एमसीसी सम्झौता संसदमा टेबल गर्न मनाउने प्रयास गरिरहेको बताइएको छ । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि एमसीसीलाई बीचमा ल्याएर गठबन्धन तोड्न नहुने बताएकी छिन् । 

माओवादीको संसदीय दलले गठबन्धनमा सहमति नभइ टेबल गरिए विपक्षमा मतदान गर्ने र गठबन्धन छाड्ने निर्णय गरेको थियो । तर गठबन्धन दलहरूमा मोटामोटी सहमति भैसकेपछि अन्तिम निर्णय लिने पालो माओवादी केन्द्रको छ । 

प्रधानमन्त्री देउवा एमसीसी सम्झौतालाई निर्वाचन अघि नै संसद्बाट छिनोफानो गराउने कसरतमा छन् । उनी नेपाललाई भूराजनीतिक उल्झनमा पार्न नचाहेको बताउँदै आएका छन् र यसमा आफू स्पष्ट र दृढ रहेको भनेका छन् । 

माओवादी केन्द्रले पनि गठबन्धनमा जुटीसकेको सहमति तोडेर एक्लै अघि बढ्ने सम्भावना न्यून रहेको अध्यक्ष दाहाल निकट एक नेताले बताए । दाहाल र देउवाले फ्रेबुअरी २८ (फागुन १६) भित्र एमसीसी सम्झौता अनुमोदन गराउने भन्दै सेप्टेम्बर महिनामा अमेरिकालाई संयुक्त पत्र लेखेका थिए ।