शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

'एमसीसीको पक्षमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति भएको छैन'

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी)का विषयमा संसदमा मतदान गर्न सत्तारुढ दलहरुबीच सहमति नभएको बताएका छन् । 

सोमबार बत्तीसपुलतीस्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म एमसीसी संसदमा टेबल गर्न मात्र दलहरुबीच सहमति भएको जनाए ।  

‘एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको हो । संसदमा मत दिने विषयमा सांसद र दलहरुसँग सहमति भएको छैन,’ कांग्रेस प्रवक्ता महतले भने । 

एमसीसीलाई विवादित बनाउनु दुःखद भएको उनले बताए । एउटै मापदण्डको आधारमा बिदेशी सहयोग लिने नीति बनाउनु पर्ने समेत उनले जनाए । 

उनले गुण र दोषका आधारमा गठबन्धन टिक्ने बताउँदै भने, ‘टेबुल गर्न जस्तै अनुमोदन गर्न पनि सत्ता गठबन्धनले सहयोग गर्ने विश्वास छ ।’  

एमसीसीलाई अन्य मुद्दासँग जोडेर राजनीति नगर्न उनले सबैलाई आग्रह गरेका थिए ।