शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं : दाहाल

सम्पादकहरूसँग माधव नेपालले भने- हेर्नोस् त मलाई जेल कोच्‍ने ओलीको कत्रो षडयन्त्र थियो

काठमाडौँ : विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र पार्टीको मूल नेतृत्वमा दुई कार्यकाल भन्दा बढी हुन नपाइने विषयमा ‘राजनीतिक समीक्षा’ गर्ने बताएका छन् । ‘यही समूहले त्यो प्रणाली बसाउँछ’ दाहालले बुधबार बिहान सम्पादकहरुसँगको अन्तर्क्रियामा भने, ‘हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैनौं । यतिखेर त्यति भन्दा बढी ब्याख्या गर्दिन ।’

दाहाल-नेपाल खेमामै यतिखेर तीन पूर्व प्रधानमन्त्री छन् । जसमा दाहाल दुई पटक र माधवकुमार नेपाल र झलनाथ खनाल एक-एक पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । दाहाल र नेपालले बुधबार सम्पादकहरुसँग पार्टी विभाजनदेखि प्रतिनिधि सभा पुनर्स्थापनासम्म छलफल गरेका थिए ।

आन्दोलन हिंसात्मक हुन सक्‍ने उनैको चेतावनीका सवालमा दाहालले भने, ‘मुलुक दुर्घटनामा जाँदा आवेग, आक्रोश र चिन्ता व्यक्त गर्न खोजिएको हो । त्यसरी हिंसात्मक भनेको होइन ।’ माधवकुमार नेपालसँगको गठबन्धन टिकाऊ सन्दर्भमा दाहालले ‘विचार र विधिमा एकता भएको हुँदा अलि परै जान सक्ने’ टिप्पणी गरे । उनले भने, ‘ओलीसँग पनि व्यक्तिगत दुश्मनी होइन । विचार, आदर्श, विधि र पद्धति मिचेपछि यस्तो स्थिति पैदा भएको हो ।’

उनले सत्ता प्राप्तिका निम्ति केपी शर्मा ओली ‘जस्तो सुकै’ सम्झौता गर्न तत्पर जिकिर गर्दै आलोपालो सम्झौता पनि उल्लंघन गरेको दाबी दाहालको थियो । उनले भने, ‘मैले बिग्रेला कि भन्‍ने चिन्ताले सहिरहेँ, तर परिणाम राम्रो भएन ।’

उनले ओलीसँग फेरि तत्काल सम्झौता या एक हुने सम्भावना नरहेको बताए । उनले भने, ‘ओलीजी पश्चाताप वा आत्मालोचना गर्नेतिर देखिनुहुन्‍न । उहाँ कुर्सी भाँच्‍न र घरै जलाउन उद्यत हुनुहुन्‍छ । त्यसकारण तत्काल एक हुने सम्भावना छैन ।’

नेकपा विभाजनपछि एक समूहले अर्को समूहविरुद्ध गाली-गलौज गर्ने क्रम तीव्र छ । त्यसमा अर्का अध्यक्ष माधवकुमार नेपाल चाहिँ ‘वाध्यतावश’ त्यसो गर्नुपरेको उल्लेख गर्छन् । उनी भन्‍छन्, ‘दुर्वाच्य बोल्न उछिनँ-पाछिन गरेको विषयमा ध्यानाकर्षण भएको छ । अनि लोकतान्त्रिक चरित्र प्रदर्शन गर्नेमा दुवै उस्तै हो भन्‍ने भान परेको छ ।’

‘हेर्नुस् कस्तो गाह्रो छ’ नेपालले भने, ‘त्यो मोरङ कलेजमा पढ्‌ने त्यो ठेट्‌ना र जागिरे केटो भनी केपी ओली बोलिरहन्छन् । त्यसमा केही जवाफ दिँदा कस्ता रद्दी मानिस रहेछन् भन्‍नै पर्ने हुन्‍छ ।’ उनले आफूलाई प्रधानमन्त्रीले ओलीले जेल कोच्‍ने षडयन्त्र गरेको बताए । ‘हेर्नोस् त मलाई जेल कोच्‍ने कत्रो षडयन्त्र भएको थियो, त्यो ललिता निवास काण्डमा’ उनले भने, 'मेरो राजनीतिक जीवन सिध्याउने खेल रचिएको थियो । केपी ओली पूरै बदला भावना हुनुहुन्‍छ, कसैले चुनौति दियो भने सिध्याउन खोज्‍नुहुन्‍छ । त्यहीकारण आलोचना गर्नेहरुलाई साइबर सेना लगाउनुहुन्‍छ ।’