शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

भारतले दिने काेराेना खोप भोलि काठमाडाैं आइपुग्‍ने

काठमाडौं :  भारतले दिने कोरोना भाइरविरुध्दको खोप भोली काठमाडौं आइपुग्ने भएको छ ।  स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर कोरोना खोप भोली काठमाडौं आइपुग्ने बताएका हुन् ।  

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले १० लाख डोज खोप ल्याइने र आवश्यक तयारी पुरा भइसकेको बताए ।  भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो ।  

नेपालसहितका देशलाई सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिडसिल्ड खोप उपलब्ध गराइने छ । त्यस्तै मंगोलिया, ओमान, म्यान्मार, फिलिपिन्स, बहराइन, मरिसियस र मालद्वीपलाई भने बायोटेक कम्पनीले उत्पादन गरेको खोप उपलब्ध गराइने भारतले जनाएको छ । भोली आउने खाेप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइनेछ ।