शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

केपी ओली भगौडा हुन् : झलनाथ खनाल

काठमाडाैँ : नेकपा (दाहाल-नेपाल) समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई भगौडा भएको आरोप लगाएका छन् ।  प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘केपी ओली अरुलाई भगौडा भन्दैछन्, केपी ओली यो पार्टीका भगौडा हुन्, कम्युनिष्ट आन्दोलनका भगौडा हुन्’ खनालले भने । उनले केपी ओलीले प्रतिनिधिसभा विघटनलाई राजनीतिक कदम भनेको भन्दै खनालले आपत्ति जनाए । ‘यो कदम प्रतिगमन हो । केपी ओली राजनीतिक कदम भनिरहेका छन् ।  संविधान भन्दा बाहिर गएर कुनै देशको प्रधानमन्त्रीले राजनीतिक कदम चाल्न सक्छ ? संविधानभन्दा बाहिर गएर राजनीतिक कदम चाल्ने हक छ ? अधिकार छ ?’ उनले प्रश्न गरे ।  

खनालले प्रधानमन्त्री ओलीले संविधान अनुसार नै काम गर्नुपर्ने बताए ।  ‘कुनै पनि प्रधानमन्त्रीले जे बोल्छ, जे निर्णय गर्छ, जे आदेशजारी गर्छ संविधान अनुसार गर्नुपर्छ,’ उनले भने, ‘नेपाली जनताले पाँच वर्ष शासन गर भनेर दिएको जनमतविरुद्ध कदम चालेको छ । संविधानले देश स्थितरतामा जाने परिकल्पना गरेको छ । कसैले पनि पाँच वर्ष नपुग्दै विघटन गर्न सक्दैन ।’  सार्वभौम जनताले बनाएको संविधान भएकोले कसैले पनि खेलवाड गर्न नसक्ने उनको भनाइ छ ।  

उनले देशलाई दुर्घटनामा फसाएर ओलीले आफ्नो समूहलाई आधिकारिक नेकपा भनेको भन्दै आपत्ति जनाए ।  ‘दुर्घटनामा राष्ट्रलाई फसाएर केपी ओली नेकपा आफ्नो आधिकारीक भनिरहेका छन् । म फेरी एक पटक सडकमा आएर हेर्न निम्ता गर्न चाहन्छु,’ उनले भने, ‘कुन चाहिँ आधिकारीक हो। आधिकारीक पार्टीको पक्षमा कति जनता छन् ।’ 

 उनले सर्वाेच्च अदालतमाथि पुरा विश्वास रहेको पनि बताए । ‘सर्वाेच्चले संविधानभन्दा बाहिर गएर केही गर्न मिल्दैन। हामीलाई सर्वाेच्चप्रति पुरापुर विश्वास छ । यो सर्वाेच्चले संसदको पुनःस्थापना गर्छ । यो भन्दा अरु विकल्प छैन’ उनले भने ।   उनले निर्वाचन आयोगले पनि कानुन अनुसार कुन पार्टी आधिकारिक भन्ने छुट्याउने पनि बताए ।  

‘अहिलेको निर्वाचन आयोग पनि अरु कुनै हुकुमी शासनले बनाएको होइन । हामीले बनाएको संविधानले बनाएको, संविधान अनुसार बनेको हो,’ उनले भने, ‘निर्वाचन आयोगले ऐन अनुसार पुष्पकमल दाहाल, माधव कुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारीक हो भनेर भन्न बाध्य हुनुपर्छ ।’