शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

भक्तपुरमा मनाइयो प्रसिद्ध खःमेय् जात्रा

काठमाडाैं : भक्तपुरमा प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मनाइएको छ । नवमीको दिन मध्यराति मनाइने सो  जात्रा गएराति सम्पन्न भएको हो।

महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्रांगणमा बाँधेर नवमीको राति बध गरी मनाइने परम्परा छ । राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ । महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बध जात्रा मनाउने प्रचलन रहेको पूजारी भनाइ छ ।

बध गरिएको सो राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ । त्यस्तै प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण अघिल्ला वर्षको तुलनामा दर्शनार्थीहरु कम देखिएका छन् ।
भक्तपुर नगरपालिकाले दर्शनार्थीहरुलाई मन्दिर प्रवेशमा रोक लगाएका छन् । मन्दिरभित्र जान नपाएपछि श्रद्धालुले बाहिरै बत्ती बाल्ने र पूजा गर्ने औपचारिक विधि पूरा गरेका छन्  । मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात राँगोलाई नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु हुने गर्दछ ।