बर्दियालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउँछौँ
चली ठाकुरद्धार साइकल यात्रा पर्यटन क्षेत्रका लागि कोभिड भ्याक्सिन हो

कोभिड-१९ महामारीले पर्यटन व्यवसाय महिनौ ठप्प बन्यो । होटल, रेष्टुरेन्ट, लजदेखि पर्यटकीय गन्तव्य पनि बन्द रहे । कोभिडले थलिएको पर्यटन व्यवसायलाई उठाउन र चलायमान बनाउन टुर द ठाकुरद्धार अभियान चलाइएको छ । नेपाल पर्यटन बोर्डको सहयोग र समन्वयमा नाट्टा बाँके र नेपालगञ्ज साइक्लिंगल क्लबको आयोजनामा टुर द ठाकुरद्धार अर्थात चली ठाकुरद्धार अभियान चलाइएको हो । नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्धारसम्म चलाइएको अभियानमा झण्डै दुई सयले साइकल यात्रा गरे । पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटक तान्नका लागि साइकल अभियान चलाएका पर्यटन व्यवसायी श्रीराम सिग्देलले यसको संयोजन, व्यवस्थापन र नेतृत्व गरे । जसले कोभिडपछि नेपालमै पहिलो पटक पर्यटन क्षेत्रमा राष्ट्रिय तहकै बाँके र बर्दियामा पर्यटन उभार ल्याए । कोभिडले थलिएको पर्यटन व्यवसाय उठाउने कामको नेतृत्व गरेका नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलसँग इकागजका लागि विष्णु विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :
चली ठाकुरद्धार अभियान कसरी सुरु भयो ?
कोभिडले गर्दा पर्यटन व्यवसाय ठप्प थियो । पश्चिम नेपाल मात्रै होइन, नेपालमै पर्यटकीय गतिविधि रोकिएका बेला हामीले केही गर्नुपर्छ भन्ने सोचिरहेका थियौँ । त्यसै बेला नेपालगञ्ज साइक्लिङ क्लबबाट प्रस्ताव आयो । सुरुमा दुई वर्ष उनीहरुले नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकल यात्रा गरेका थिए । तर यसपटक उनीहरुले हामीसँग सहकार्य गर्ने भनेपछि नाट्टा बाँकेको अध्यक्षको हैसियतमा मैले हुन्छ भने । यसलाई वृहत् बनाउने अभियानको नेतृत्व गरे । नेपालमा अहिलेसम्मकै ठूलो साइकल यात्रा, पर्यटनका लागि साइकल यात्रा र कोभिडले थलिएको पर्यटन व्यवसाय उठाउने कदमका रुपमा पश्चिम नेपालका पर्यटन व्यवसायीले यसलाई बुझेका छन् ।
कुन-कुन संस्थासँग सहकार्य भएको छ ?
नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकल यात्रा गर्ने भएपछि यसलाई वृहत बनाउने योजना पलायो । अझ त्यो भन्दा बढी राष्ट्रिय स्तरकै पर्यटन संघ संस्था र सरकारसँग पनि सहकार्य गर्ने सोच आयो । त्यसका लागि नेपाल पर्यटन बोर्डसँग प्रस्ताव लिएर गयौँ । बोर्डका सीइओ डा. धनन्जय रेग्मीले प्रस्ताव स्वीकार गर्नुभयो । त्यसैगरी नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाँईले पनि साथ दिनुभयो । यसैगरी नेपालगञ्ज उपमहानगरपालिकाले पनि साथ दियो । यस्तै बाँके र बर्दियाका सबै नगरपालिकाले पनि साथ दिने बचन दिएपछि कोभिडपछि पहिलोपटक पर्यटनका लागि साइकल यात्रा र बाँके तथा बर्दिया घुमाउने योजना सफल भएको हो ।
यसको खास उद्धेश्य र उपलब्धी चाँहि के हो ?
नेपालमा अहिलेसम्म पूर्वको जति धेरै प्रचार प्रसार भयो । त्यति प्रचार प्रसार पश्चिमको भएन । पश्चिम नेपालको पर्यटन प्रवर्द्धनका लागि ठूलो प्रयास नै न राज्यले गरिदियो । न यहाँका पर्यटन व्यवसायीले गरे । सबै पर्यटन व्यवसायीले संयुक्त रुपमा गर्न नसकिरहेका बेला हामीले सबैलाई मिलाएर पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक प्रवर्द्धन गर्ने सोच र योजना बनायौँ । त्यसका लागि नेपालगञ्जदेखि ठाकुरद्धारसम्मका पर्यटकीय क्षेत्र हेर्ने योजना बन्यो । दुई जना साइकल यात्री र पर्यटकले बाँकेको बागेश्वरी मन्दिर, बर्दियाको बढैयाताल, कृष्णसार सरक्षण क्षेत्र, नेपालको सबैभन्दा लामो गेरुवा पुल हुँदै बर्दिया राष्ट्रिय निकुञ्जको केन्द्रबिन्दु ठाकुरद्धार यात्रा गर्ने सोच तय गर्यौँ । यसले नेपालगञ्जदेखि ठाकुद्धारसम्म साइकल रुट पनि छ भन्ने सन्देश दिएको छ । अर्कोतिर बाँके र बर्दियाको स्थानीय संस्कृति, थारु समुदायको पहिचान, सांस्कृतिक महत्वलाई पर्यटकले बुझ्ने अवसर पाएका छन् । यसले देश विदेशका पर्यटक तान्न ठूलो भूमिका खेलेको छ ।
कसरी पर्यटक आकर्षण गर्ने भूमिका भयो ?
यसअघि बाँके र बर्दिया आउने पर्यटक एक दुई दिन आएर बस्थे । घुम्थे जान्थे । अलि रहर गरेकाले जंगल सफारी गर्थे । जान्थे । तर यसपटक हामीले साइकलमै विस्तारै बर्दियाँका सबै होमस्टे जान सकिन्छ भन्ने सन्देश दियौँ । बर्दियाका थारु समुदायको पहिचान खुलायौँ । आन्तरिक पर्यटकका लागि बर्दियाको प्याकेज ल्याउन पर्यटन बोर्ड, पर्यटन व्यवसायीलाई भन्यौँ । अब साइकल टुरपछि नेपालगञ्जदेखि ठाकुरद्धारसम्म पर्यटक बस चलाउने योजना बनाएका छौँ । अब पर्यटन बोर्डको वेबसाइटमै नेपालगञ्जदेखि ठाकुरद्धारसम्मको साइकल रुटको विस्तृत जानकारी र नक्सा राखिएको छ । यसबाट पनि यस क्षेत्रको पर्यटनबारे देश विदेशमा प्रवर्द्धन भएको छ । साइकल यात्रा गर्ने सातै प्रदेशका दुई सय बढीले यसको प्रचार प्रसार गरे । यो सानो उपलब्धी होइन ।
अबको योजना के छ ?
अब हामी चाँडै बाँके र बर्दियाका स्थानीय तहका जनप्रतिनिधिलाई पर्यटन तालिम दिने योजनमा छौँ । त्यसपछि नेपालगञ्जदेखि रारासम्म साइकल यात्रा गर्ने योजना बनाएका छौँ । एक दुई महिनाभित्र नेपालगञ्जदेखि ठाकुद्धारसम्म पर्यटक बस चलाउने योजना बनाएका छौँ । यसका लागि नेपालगञ्ज उमहानगरपालिका, नाट्टा बाँकेले सहकार्य गर्दैछौँ । अब लुम्बिनीपछि कर्णालीलाई केन्द्रबिन्दुमा राखेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने योजना बनाउदैछौँ । पश्चिम नेपाललाई पर्यटकीय हब बनाउने विशेष योजना छ । यसका लागि सबैसँग सहकार्य गर्दैछौँ ।
साइकल यात्राले कोभिडपछिको पर्यटन उकास्ने मेरुदण्ड कसरी बन्यो ?
अहिले पनि नेपालमै पर्यटन गतिविधि खुलेर भएका छैनन् । त्यसमाथि यसरी पर्यटन व्यवसायी आवद्ध कुनै पनि संघ सस्ंथाले खुलेर गतिविधि गर्न सकेका थिएनन् । तर हामीले पहिलो पटक कोभिडपछि पर्यटन व्यवसाय अब उठाउनुपर्छ, जगाउनुपर्छ, पर्यटकलाई घुम्ने वातावण बनाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ । जसले पश्चिम नेपालको पर्यटन उठाउने मेरुदण्डको काम यो साइकल यात्रा र बर्दियाका पर्यटकीय क्षेत्र घुम्ने गतिविधिले भएको छ । अब बाँके र बर्दियापछि नेपालका विभिन्न ठाउँमा पर्यटकीय गतिविधि हुनेछन् । नेपाल पर्यटन बोर्डले अरु ठाउँमा पनि पर्यटकीय गतिविधि गर्न समन्वय गर्ने भनेको छ । यसले हामीलाई मात्रै होइन, सबै पर्यटन व्यवसायीलाई खुशी दिलाएको छ । यसका लागि साथ सहयोग दिने पर्यटन बोर्ड, नाट्टा, नेपालगञ्ज उपमहानगरपालिका, बर्दियाका सबै स्थानीय सरकार, जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार सबैलाई धन्यवाद दिन चाहन्छु ।
र, यो पनि
- नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकलमा सररर... (फोटोफिचर)

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया