प्रमुख समाचार

नेपालगञ्जदेखि ठाकुरद्धारसम्म साइकलमा सररर... (फोटोफिचर)

विष्णु विश्‍वकर्मा |
माघ २४, २०७७ शनिबार ७:५९ बजे

बर्दिया : कोभिड-१९ को महामारीले थलिएको पर्यटनलाई उकास्‍न बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्धारसम्म साइकल र्‍याली गरिएको छ । नेपालगञ्जदेखि ठाकुरद्धारसम्मका मुख्य मुख्य पर्यटकीय स्थलको अवलोकन गर्दै १ सय ४० जनाले ८५ किलोमीटरसम्म साइकल र्‍याली गरेका हुन् ।


र्‍यालीमा सातै प्रदेशका ४० भन्दा धेरै जिल्लाका पर्यटन व्यवसायी तथा आन्तरिक पर्यटक प्रवर्द्धक संस्थाका प्रतिनिधि सहभागि थिए । चली ठाकुरद्धार भन्‍ने नाम दिएर सुरु गरिएको र्‍यालीको नेपाल पर्यटन बोर्डका अध्यक्ष धनन्जय रेग्मी र नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शम्सेर राणाले राष्ट्रिय झण्डा हस्तान्तरण गरेर उद्घाटन गरेका थिए ।

र्‍यालीमा विश्व साइकल यात्री पुष्कर शाहदेखि बाँके तथा बर्दियाका पर्यटक व्यवसायीको सहभागिता थियो । नेपालगञ्ज साइक्लिङ क्लब र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको संयुक्त आयोजनामा भएको साइकल र्‍यालीलाई नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेको छ ।

नेपालगञ्जदेखि ठाकुरद्धारसम्मका पर्यटकीय क्षेत्र बाँकेको बागेश्वरी मन्दिर, बर्दियाको बढैयाताल, कृष्णसार संरक्षण क्षेत्र लगायत क्षेत्रमा पुगेर साइकल र्‍यालीले पर्यटन प्रवद्र्धनको काम गरेका थिए । गुलरिया हुँदै ठाकुरद्धारा पुगेको र्‍यालीमा सहभागि साइकल यात्रीले नेपालको राष्ट्रिय झण्डा, चली ठाकुरद्धार लेखिएका टीसर्ट लगाएका थिए ।

नेपालगञ्जदेखि ठाकुरद्धारासम्म साइकल र्‍याली गरिएको यो तेस्रो संस्करण हो । २०७५ सालदेखि नेपालगञ्ज साइक्लिङ क्लबले साइकल र्‍याली गरेको थियो । दुई वर्ष क्लबले सञ्चालन गरेको साइकल र्‍यालीलाई यस वर्ष नाट्टा बाँकेले पनि संयुक्त रुपमा आयोजना तथा व्यवस्थापन गरेको हो ।

कसरी सुरु भयो साइकल र्‍याली अभियान ?
बाँके र बर्दियामा थारु समुदायको बर्चश्व छ । थारु समुदायकै बाहुल्यता रहेको बाँके र बर्दियामा आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत स्थानीय थारु समुदायले निर्माण गरेका परिकार खान रुचाउँछन् । त्यसमाथि वर्षेनी पर्यटकको संख्या बढ्न थालेपछि नेपालगञ्जका युवाहरुले पर्यटनको प्रचार प्रसार गर्न साइकल र्‍याली निकाल्न सुरु गरेका हुन् ।

नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष गगन थापाका अनुसार २०७५ सालमा पाँच जिल्लाका ५५ जना युवाहरुबाट साइकल र्‍यालीको सुरुवात गरिएको हो । खासगरी बाँके तथा बर्दियामा रहेका पपर्यटकीय क्षेत्रको प्रचार, प्रसार गरेर आन्तरिक एवं बाह्य पर्यटक बढाउने उद्धेश्यले सुरु गरिएको र्‍यालीमा थारु समुदायलाई समेत अपनत्व हुने गरी चली ठाकुरद्धार नाम राखिएको हो ।

थारु भाषाको चली शब्दको नेपाली अर्थ जाऔँ भन्‍ने हो । ठाकुरद्धार जाऔँ भन्‍ने नाराका साथ यस वर्ष चलाइएको साइकल र्‍यालीमा ४० जिल्लाका १ सय ४० जनाभन्दा धेरैको सहभागिता छ । सातै प्रदेशका साइकल चलाउन रहर गर्ने पर्यटन व्यवसायीको पनि सहभागिता छ ।

यसअघि गएको वर्षको दोस्रो संस्करणमा १६ जिल्लाका १ सय १८ जनाको सहभागिता थियो । यस वर्ष साइकल र्‍यालीका लागि भारतबाट ५ जना सहभागि भए । कोभिडले गर्दा झण्डै आठ महिना जति ठप्प भएको पश्चिम नेपालको पर्यटन क्षेत्र उकास्न साइकल तामझामका साथ साइकल र्‍याली गरिएको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।

साइकल र्‍यालीमा नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मी, नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत खरेल लगायत पर्यटन व्यवसायीलाई सहभागि गराउन उनले व्यवस्थापनको प्रमुख भूमिका निभाएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको बागेश्वरी मन्दिर, कृष्णसार संरक्षण क्षेत्र, कर्णाली पुल, नेपालकै सबैभन्दा लामो कर्णाली गेरुवा पुल, बढैयाताल लगायतका पर्यटकीय क्षेत्र भएपनि प्रचार प्रसार नभएका कारण विदेशी पर्यटक आउन नसकेको भन्दै नाट्टा लगायतका संस्थाले साइकल र्‍यालीको आयोजना गरेका हुन् ।

शनिबार बर्दिया राष्ट्रिय निकुञ्ज परिसरमा साइकल र्‍याली गरेपछि दिउँसो पर्यटन क्षेत्रको आगामी चुनौति र सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम गरेपछि चलौ ठाकुरद्धार कार्यक्रम सकिनेछ । यसले कोभिडपछि पश्चिम नेपालको पर्यटन क्षेत्र चलायमान भएको सन्देश दिने विश्वास पर्यटन व्यवसायीमा छ । 


Author

थप समाचार
x