मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

नयाँ शैक्षिक सत्र असारदेखि, यस वर्षका सबै परीक्षा जेठभित्रै !

फाइल फोटो

काठमाडौँ : सरकारले नयाँ शैक्षिक सत्र आउँदो असारदेखि सुरु गर्ने भएको छ । कोभिड-१९ का कारण चालु शैक्षिक सत्र जेठसम्म लैजानुपर्ने भएपछि नयाँ शैक्षिक सत्र असारदेखि मात्रै सुरु गरिने भएको हो । यसका लागि जेठ मसान्तसम्म विद्यालय तहका सबै परीक्षादेखि माध्यामिक शिक्षा परीक्षा एसईई पनि सम्पन्न गरिसक्नु पर्नेछ ।

आइतबार शिक्षा पत्रकार समूहले गरेको भर्चुअल कार्यक्रममा बोल्दै शिक्षा सचिव गोपीनाथ मैनालीले यस वर्षको शैक्षिक सत्र जेठसम्म लम्ब्याउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । साथै उनले असारमा नयाँ शैक्षिक सत्र सुरु हुने पनि बताए ।

यसअघि बैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । तर यस वर्ष कोभिड-१९ महामारीका कारण शैक्षिक सत्र थप दुई महिना लम्ब्याउनुपर्ने बाध्यकारी अवस्था आएको शिक्षा सचिव मैनालीले बताए ।

आन्तरिक रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र दुई महिना थप गर्ने निर्णय गरिसकेको छ । शैक्षिक सत्र लम्ब्याउने व्यवस्थासहित संशोधन गरिएको शिक्षा नियमावली २०५९ राजपत्रमा प्रकाशित भएपछि मात्रै यो निर्णयलागु हुने शिक्षा सचिव मैनालीले बताए ।

मन्त्रिपरिषद बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको छ । मन्त्रिपरिषदको स्वीकृति पश्चात मन्त्रालयले शैक्षिक सत्र थप गर्ने निर्णय गरेको पनि उनको भनाई छ ।

यस्तै कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले मन्त्रिपरिषद बैठकको स्वीकृति, शिक्षा मन्त्रालयको निर्णयअनुसार जेठमा माध्यामिक शिक्षा परीक्षा एसईई गर्ने तयारी भएको बताए । जेठ मसान्तसम्म चालु शैक्षिक सत्र लम्बिएकाले एसईई, कक्षा ११ र १२ का बाँकी परीक्षा जेठभित्र गर्ने तयारी भएको पनि उनले बताए ।

शिक्षा सचिव मैनालीका अनुसार आगामी नयाँ शैक्षिक सत्र असारदेखि सुरु भएपनि चैतमै सम्पन्न हुनेछ । कोभिड १९ का कारण यस वर्षको शैक्षिक सत्र लम्ब्याउनुपर्ने बाध्यता भएपनि अर्को वर्षदेखि नियमावली अनुसार नियमित समयमै शैक्षिक सत्र सम्पन्न गर्ने योजना रहेको बताए ।

यसरी चालु शैक्षिक सत्र १४ महिनाको हुनेछ भने आगामी नयाँ शैक्षिक सत्र १० महिनाको मात्रै हुनेछ । यसका लागि पठनपाठन, परीक्षा प्रणाली र विद्यालय सञ्चालन तथा विदाको समय मिलाइने पनि मैनालीले बताए ।

कोभिड-१९ महामारीका कारण यस वर्ष मंसिरदेखि फाट्टफुटट् विद्यालय सञ्चालन भएका थिए । काठमाडौँ उपत्यकामा भने माघदेखि नियमित विद्यालय सञ्चालन भएका छन् । कोभिड-१९ का बेला केही विद्यालयले अनलाइन, रेडियोमार्फत पठनपाठन गराएका थिए ।