कुवेतमा काम लगाइदिने बहानामा श्रीलंका पुर्याएर बेचबिखन

काठमाडौँ : दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलंका पुर्याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजूरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो ।
कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलंकामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।
सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलंका पुर्याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताएका छन् ।
त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल भएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ । रासस

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया