मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

लाजियोलाई लिग जिताउन इन्जाघी सक्षम छन् : पूर्व स्ट्राइकर भियरी

काठमाडौँ : जारी इटालियन सिरी ए सिजनमा दुई मिलान क्लब शीर्ष स्थानमा छन् । एएस रोमा, युभेन्टस र नेपोली जस्ता अन्य ठूला क्लब शीर्ष चारमा छनौट हुने दौडमा रहँदा लाजिया भने छैठौँ स्थानमा छ (यो समाचार तयार पार्दा सम्म) ।

पछिल्ला सिजनहरूमा एकछत्र प्रभाव जमाएको युभेन्टसलाई यसपटक इन्टर मिलान र एसी मिलानले पछि पार्ने अनुमान भइरहँदा, क्रिस्टियन भियरीले भने लाजियो पनि लिग जित्न सक्षम टोली रहेको धारणा ब्यक्त गरेका छन् । प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा रहेको लाजियो गत सिजन लिगमा चौथौँ भएको थियो । स्ट्राइकर सिरो इम्मोबिले र मिडफिल्डर सर्गेन मिलिन्कोभिच साभिचले उत्कृष्ट लय देखाइरहँदा लाजियो उपाधि दाबेदारका रुपमा देखा परेको भियरीको भनाई थियो ।

आइतबार राती इन्टरसँग आमनेसामने हुने लाजियोले अर्को साता च्याम्पियन्स लिगमा गत सिजनको विजेता बार्यन म्युनिखका सामु चुनौती पेस गर्नेछ । इन्जाघी सन् २०१६ मा लाजियोको प्रशिक्षकमा नियुक्त भएपछि दुई पटकको लिग विजेताले इटालीमा तीन उपाधि जितेको छ ।

‘इजाघी लाजियोमा चार वर्ष देखि प्रशिक्षकका रुपमा छन् । उनले क्लबमा राम्रो काम गरेका छन् । लाजियोमा राम्रा खेलाडी पनि छन् । जसले लिग र च्याम्पियन्स लिगमा प्रभावशाली खेल देखाएका छन्,’ लाजियोको जर्सीमा एक वर्ष लिग खेलेका भियरीले भने ‘लाजियो इटालीमा सबैखाले उपाधि जित्न सक्षम छ । त्यसमा लिग पनि पर्छ । च्याम्पियन्स लिगको सवालमा भने अहिले नै केही भन्‍न सकिन्‍न ।’

लाजियोले सन् २०२१ मा सर्वाधिक १९ अंक बटुलेको छ । यस अंग्रजी वर्ष छ खेल जित्दै लाजियो अपराजित यात्रामा छ । यस पटक लाजियाले लिग जिते त्यो क्लबको इतिहासमा तेस्रो सिरी ए उपाधि हुनेछ । लाजियोले पछिल्लो पटक १९९९-२००० सिजनमा लिग जितेको थियो ।

लाजियोलाई खेलाडीका रुपमा लिग जिताउन सहयोग गरेका इन्जाघी गत सिजन प्रशिक्षकका रुपमा पनि उपाधि नजिक थिए । कोभिड-१९ ले लिग स्थगित हुनु अगाडि इन्जाघीको टिम च्याम्पियन युभेन्टस भन्दा एक अंकले मात्रै पछाडि रहेको थियो । तर लिग सुचारु भएपछि भने लाजियाले उस्तै लय देखाउन सकेन । जसका कारण एटलान्टासँग समान अंक भएपनि लाजियो गोल भिन्‍नताका आधारमा चौथौँ स्थानमा सिमित भयो ।