नाम लेखाउने रहरमा शासकसँगै नागरिक पनि
काठमाडौं : नामैनामले भरिएका भित्ता । ती नामहरूका बीचमा मुस्किलले भेटिएको खाली ठाउँमा उनले लेखिन् -दीपिका । स्वयम्भूको सरस्वती मन्दिरका भित्तामा मंगलबार दिपिकाले मुस्किलले आफ्नो नाम लेखिन् । उनी जस्तै थुप्रै बालबालिकाले ति भित्तामा खाली ठाउँ खोज्दै आफ्नो नाम लेखे ।
कतिपय अभिभावकले छोराछोरीको हात समातेर अक्षर लेख्न सिकाउँदै थिए । बिहानभरीमा मन्दिरका राता भित्ता सेतो, पहेलो, निलो रंगका नामैनामले भरिए । माघ शुक्ल पूर्णिमाको दिन अर्थात् बसन्त पञ्चमीको दिन यहाँ सरस्वतीको पुजाआराधना गर्नेका साथै छोराछोरीलाई अक्षरारम्भ गराउनेहरूको भीड लाग्ने गरेको छ ।
यहाँ बच्चाले मात्रै होइन, मंगलबार ठूलाले पनि मन्दिरका भित्तामा नाम लेख्दै थिए । नाम मात्रै होइन, चित्रहरू पनि कोर्दै थिए । यसरी मन्दिरका भित्तामा लेखे, सो बच्चा अध्ययनशील हुने विश्वास हाम्रो समाजमा प्रचलित छ । तर यसरी सयौँको संख्यामा आएका श्रदालुहरूले भित्तामा रंगीविरंगी चकले लेख्दा मन्दिरको स्वरुप नै कुरुप भएको छ ।
सरस्वती पूजाका दिन बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा परापूर्व कालदेखि नै चलिआएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । तर यसरी मन्दिरका भित्तामै लेख्ने चलन भने कहिले सुरु भयो उनलाई यकिन थाहा छैन । तर यसरी लेख्दा मन्दिरको मौलिक स्वरुप, महत्वलाई नै असर गर्ने धौभडेल बताउँछन् ।
‘पहिलेका मानिसहरू यस दिन कालो स्लेटमा सेतो खरीले लेखेर अक्षरारम्भ गर्थे,’ उनी भन्छन्, ‘अहिले कापी कलमको जमाना आएको छ । त्यसमै लेखेर अक्षरारम्भ गरे हुन्छ । मन्दिर फोहोर बनाउने गरी यसरी जथाभावी लेख्न लगाउँदा राम्रा मन्दिरहरु पनि कुरुप देखिन्छन् ।’ धौभडेलका अनुसार मन्दिरहरू नेपालको अमूल्य सम्पदा पनि हुन् । चेत नखुलिसकेका अबोध बालबालिकालाई अभिभावकले नै यसरी मन्दिरमा लेख्न लगाएपछि ठूलो भएपछि उनीहरूले सम्पदाको महत्व नबुझ्ने हुनसक्ने पनि उनले चिन्ता व्यक्त गरे ।
अहिले पनि विभिन्न मन्दिरका भित्तामा हेर्ने हो भने थुप्रै युवाहरूले तिनमा प्रेमीप्रेमिकाका नाम लेखेका देखिन्छन् । उनीहरूले केरेर देउताका मूर्ति, शिलालेखलगायतलाई कुरुप पार्ने गरेका छन् । उत्शृङ्खल शव्दहरु लेखेका छन् । वर्षेनी यसरी कोर्दा हाम्रा अमूल्य कलाकृति र सम्पदाको आयु घटिरहेको प्रति हेक्का छैन ।
अहिले भएका सम्पदाहरू नासिँदै जाने क्रम बढिरहेका बेला झनै बालबालिकालाई यस्ता क्रियाकलाप गराउन नहुने उनका तर्क छ । उनी भन्छन्, ‘हामीले बालबालिकालाई सम्पदाप्रति संवेदनशील बनाउनुपर्नेमा कतै हामीले यसरी मन्दिरका भित्तामा लेख्न सिकाएर सानैदेखि गलत बाटो त देखाइरहेका छैनौँ ? भनेर अभिभावकले सोच्नुपर्छ ।’
समय परिवर्तन भएसँगै हाम्रा आचरण पनि बदल्दै लैजानुपर्ने उनी बताउँछ्न । भन्छन्, ‘पहिले पो कापी कलम थिएन । अहिले त छ नि । त्यसैले बच्चालाई कापीमै लेख्न सिकाउनुपर्छ । मन्दिरलाई सफा रहन दिनुपर्छ । अब अभिभावकहरू पनि समय अनुसार परिवर्तन हुँदै जानुपर्छ ।’
भक्तपुरस्थित बागीश्वरी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानसागर प्रजापतिका अनुसार पनि मन्दिरका भित्ताहरूमै लेख्ने परम्परा गलत हो । उनका अनुसार यसरी सानैदेखि मन्दिरलगायतका भित्तामा लेख्न सिकेकाहरुले नै सार्वजनिक ठाउँमा भएका शिलालेख, ताम्रपत्रलगायत महत्वपूर्ण दस्तावेजहरूमा किला वा धारिलो सामग्रीले कोरेर मासिदिने गर्छन् । त्यस्तै मूर्तिमै केरमेट गरी कुरुप पारिदिने पनि गर्छन् । अभिभावकले आफ्ना सन्तानलाई सम्पदाको महत्व बुझाउन नसक्दा यस्ता दुर्घटनाहरु निम्तिने उनको भनाइ छ ।
‘हामीले देउताले दिएको शिक्षा लिने भन्दा पनि जसरी हुन्छ, मूर्ति पुज्ने संस्कार मौलाएको छ,’ उनी भन्छन्, ‘सरस्वतीलाई मूर्तिको रुपमा नभई प्रतीकको रुपमा हेर्नुपर्छ भनेर कसैले सिकाएन । सरस्वतीको सुमधुर वाणीले मानिसलाई मधुर हुन प्रोत्साहन दिन्छ । उनको हातमा हुने पुस्तकले अध्ययन गर्न प्रोत्साहन गर्छ । उनको वाहण राजहंशले दुधको दुध, पानीको पानी छु्ट्याउँछ, यो भनेको विवेक हो । यसरी सरस्वतीको प्रतीकलाई नबुझी मूर्ति पुज्न थाल्दा यस्तो भएको हो । त्यसैले सम्पदा र त्यसको मर्म बुझाउनतिर लाग्नुपर्छ । तब मात्रै यो समस्या निराकरण हुन्छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया