कोभिडपछि उकासियो वैदेशिक व्यापार, मासिक व्यापार घाटा बढ्दो
धान, मकै, चामलमा परनिर्भरता बढ्यो, सुन १८०० किलो भित्रियो

काठमाडौं : गत आर्थिक वर्षबाट घटिरहेको आयात पुसयता बढ्न थालेको छ । पछिल्लो पुस र माघ महिनामा आयात बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको सुरुवातदेखि आयात घट्दै गइरहेको थियो भने निर्यातमा वृद्धि भएको थियो ।सरकारले वाणिज्य नीतिमा आफूले चालेका सुधारको प्रयासको प्रभाव भन्दै श्रेय लिन खोज्यो । सरोकारवालाहरूले यसलाई विश्वव्यापी आर्थिक संकटको प्रभाव समेत भने । तर, यो नेपालको वैदेशिक व्यापारको ईतिहासमा देखिएको सुधारको संकेत थियो । तर, पछिल्ला दुई महिना (पुस र माघमा) आयातमा भएको वृद्धिले व्यापारघाटालाई फेरी बढाउँदै लैजाने संशय बढेको छ ।
कोरोना महामारीपछि भारत लगायत विभिन्न मुलुकले बन्दाबन्दी लगाएपछि उनीहरूसँगको नेपालको व्यापार खलबलियो । अत्यावश्यक बाहेक अन्य वस्तुको आयात ठप्प बन्यो ।
पुस र माघमा भएको अत्यधिक मात्रामा वस्तु आयात भएपछि सात महिनाको कुल आयात पोहोरकै हाराहारी पुगेको छ । मंसिरसम्मको तथ्यांकमा आयात र निर्यात पोहोरको तुलनामा कम छन् । तर, पुसपछि आयात र निर्यात दुबै किसिमका व्यापारमा वृद्धि भएको छ ।
पुसमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । तर, गत आर्थिक वर्षको पुसमा यो १ खर्ब १३ अर्ब रुपैयाँ मात्रै थियो । आयात मात्रै होइन, पुसपछि निर्यात व्यापारमा समेत सुधार आएको छ । पुसमा १० अर्ब ७४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आवको पुसमा निर्यात ९ अर्ब ६६ करोड रुपैयाँ मात्रै थियो ।
मुख्य रूपमा इन्धन, सवारीसाधन र औद्योगिक कच्चापदार्थ आयात भएका छन् । सात महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ ।
सात महिनामा ३९ अर्ब ७१ करोड रुपैयाँ बराबरको डिजेलको आयात भएको छ । १७ अर्ब २६ करोड रुपैयाँ बराबर खाना पकाउने ग्यास मात्रै आयात भएको छ । १५ अर्ब ९६ करोड पेट्रोल आयात भएको तथ्यांकले देखाएको छ ।
सुनको आयात बढ्यो, खाद्यान्नमा परनिर्भरता बढ्दो
चालु आर्थिक वर्षको सात महिनामा सुन, भटमासको कच्चा तेल, धान, मकै र चामलको आयात ह्वात्तै बढेको छ । गत आवको सात महिनामा ११ सय ५० किलो मात्रै सुन आयात भएको थियो । तर, चालु आवको सात महिनामा एक हजार ८ सय किलो सुन आयात भएको छ । यस अवधिमा झन्डै १२ अर्ब ८३ करोड रुपैयाँ बराबरको सुन आयात भएको हो ।
भटमासको कच्चा तेल मात्रै १७ अर्ब २८ करोड रुपैयाँ बराबर भएको छ । गत आवको सात महिनामा ६ अर्ब ४९ करोड रुपैयाँको मात्रै कच्चा तेल आयात भएको थियो ।
चामल मात्रै १५ अर्ब ८० करोड रुपैयाँ बराबर आयात भएको छ । गत आवमा १२ अर्ब ४६ करोड रुपैयाँ मात्रै आयात भएको थियो । १० अर्ब रुपैयाँको धान आयात भएको छ भने ९ अर्बको मकै आयात भएको छ । पोहोर ६ अर्ब ३१ करोड रुपैयाँ बराबर मकै आयात भएको थियो ।
मासिक व्यापारघाटा बढ्न थाल्यो
गत आर्थिक वर्षदेखि सुधारका संकेत देखिएका नेपालको वैदेशिक व्यापारमा फेरी फराकिलो अन्तरमा घाटा व्यहोर्नुपर्ने जोखिम बढेको छ । मंसिरसम्मको तथ्यांकमा पोहोरको तुलनामा कम थियो । गत आर्थिक वर्षको मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँको व्यापार घाटा थियो । जबकी चालु आर्थिक वर्षको मंसिरमा व्यापार घाटा १ खर्ब १३ अर्ब रुपैयाँ छ । तर, पुसपछि मासिक व्यापारघाटा बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आवको पुसमा १ खर्ब ३ अर्ब रुपैयाँ व्यापारघाटा थियो । चालु आवको पुसमा १ खर्ब २५ अर्ब रुपैयाँ व्यापारघाटा भएको छ ।
माघमा त व्यापारघाटा १ खर्ब ३३ अर्ब रुपैयाँ नै छ । गत आवको माघ र पुसको तुलनामा चालु आवका पछिल्ला दुई महिनामा निर्यात नबढ्या होइन । गत आवको पुसमा ९ अर्ब ६६ करोड रुपैयाँ निर्यात भए पनि यो पुसमा १० अर्ब ७४ करोड रुपैयाँ निर्यात भएको छ । माघमा समेत १ अर्ब ४२ करोड रुपैयाँ बढी निर्यात भएको छ ।
तर, निर्यातको तुलनामा फराकिलो अन्तरमा आयात वृद्धि भएकाले मासिक व्यापारघाटा बढेको हो । पोहोर पुसको तुलनामा चालु आवको पुसमा २२ अर्ब ३१ करोड रुपैयाँ बढी आयात भएको छ । माघमा त झन् ३३ अर्ब ४८ करोड रुपैयाँले आयात बढेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया