पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई जापान सरकारको सम्मान

काठमाडौं : जापान सरकारले पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई ‘ग्रान्ड कडन अफ दि अर्डर अफ दि राइजिङ सन्’ विभूषणले सम्मान गर्ने भएको छ । 'कूटनीति र राजनीति' , 'क्रान्ति र प्रतिक्रान्ति'का लेखक पाण्डेलाई ‘अटम इम्पेरियल डेकोरेसन’ अन्तर्गत विभूषण प्रदान गर्ने भएको हो । नेपाल र जापान सम्बन्ध सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै पाण्डेलाई सम्मान गर्न लागिएको काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
कूटनीति, अनुसन्धान, शिक्षा, समाजसेवा, खेलकुद, संस्कृतिलगायतका क्षेत्रबाट द्विपक्षीय सम्बन्ध सुदृढमा योगदान पुर्याउने व्यक्तिलाई यसप्रकारको विभूषणबाट जापानले सम्मानित गर्दै आएको छ । यो वर्ष जापान सरकारले मुलुकका ६० जना फरक क्षेत्रका व्यक्तिलाई विभूषित गर्ने घोषणा गरेकोमा दक्षिण एसियाबाट भने उक्त विभूषण पाउने पूर्वपराष्ट्रमन्त्री पाण्डे एक्ला हुन् ।
पूर्व मन्त्री (परराष्ट्र, पर्यटन, सूचना तथा सञ्चारलगायत) पाण्डेलाई मंगलबार बिहान जापानी विदेशमन्त्री तोसिमित्सु मोतेजीले पत्र पठाएर उक्त सम्मान दिन लागेको जानकारी दिएका हुन् । ‘द्विपक्षीय सम्बन्ध मजबुत बनाउन यहाँले खेल्नु भएको भूमिकालाई उच्च मूल्यांकन गर्दै जापान सरकारले उक्त विभूषण प्रदान गरिएको’ जानकारी जापानी मन्त्रीले दिएको पाण्डेले बताए ।
पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान-नेपाल-चीनसहित त्रिदेशीय टोलीलाई उनले सहयोगका साथै हौसला प्रदान गरेको दुतावासले जनाएको छ । उनले जापान र चीन सम्वन्ध बिस्तारमा पनि भूमिका खेलेको आशय उक्त सन्देशमा देखिन्छ । नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक रहेका एकाई कावागुचीको तस्विर टिकटमा टाँस्न सन २००२ मा पाण्डे सञ्चार मन्त्री हुँदा सुरु भएको थियो ।
शाही शासनमा परराष्ट्रमन्त्री रहेका पाण्डेले तत्कालीन युवराज पारस शाह र युवराज्ञी हिमानीसहित जापान भ्रमण पनि गराएका थिए । तत्कालीन जापानी प्रधानमन्त्री रियुतारो हासिमोतोसँग पाण्डेको व्यक्तिगत सम्बन्ध रहेको दूतावासले उल्लेख गरेको छ । जापान सरकारले वसन्त र शरद ऋतु पारी वर्षको दुई पटक जापानसँगको सम्बन्ध सुधारमा उल्लेख्य भूमिका खेलेका विदेशी नागरिकलाई ‘अर्डर अफ दि राइजिङ सन’ अवार्ड दिने गरेको छ ।
जापान सरकारले अप्रिल २९ मा ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ र नोभेम्बर ३ मा ‘अटम इम्पेरियल डेकोरेसन’ विभूषणको घोषणा गर्छ । यो अवार्ड सन् १८७५ मा तत्कालीन जापानी सम्राट मेइजीले स्थापना गरेका थिए । यही विभूषणमध्ये मेरिटका आधारमा ‘अर्डर अफ दि राइजिङ सन’ दिइने गर्छ । यसअघि यस वर्षको वसन्त ऋतुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘स्प्रिङ इम्पेरियल डेकोरेसन’ अन्तर्गत ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गरेको थियो ।

बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचा…

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया