बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थाले : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ : उपप्रधानमन्त्री ईश्‍वर पोख्रेलले विचार, संगठन र नेतृत्वको ख्याल नगरि पार्टी एकता गरिएकाले समस्या भएको बताएका छन् । 
१ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित कार्यक्रममा उनले पार्टी एकता गर्दाको समयमा ढंग नपुगेका कारण समस्या भएको बताएका हुन् । 

'विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले अहिले समस्या भएको हो' उनले भने, 'आइतबारको सर्वोच्च अदालतको फैसला पछि एकिकृत पार्टीहरूको अवस्था २०७५ साल जेठ ३ गते आगाडिको अवस्थामा पुगेको छ । अब नेकपा एमालेले विचार, संगठन अनि योग्य नेतृत्व राखेर नयाँ ढंगले पार्टी एकतालाई अघि बढाउँछ ।'

केही समय अगाडि नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली समूहका तर्फबाट थप गरिएका केन्द्रीय सदस्यहरू पनि नेकपा एमालेकै केन्द्रीय सदस्य हुने भन्दै सबैलाई विश्‍वस्त हुन आग्रह गरे । उनले नेकपा एमाले सुर्य चिन्हसहित सबैलाई समेटर अगि बढ्ने बताए । 

छिनछिनमा सरकार बदलिने, हेरफेर भइरहने कुरा भयो भने मुलुकमा अस्थिरता पैदा हुने र त्यसले समग्र आर्थिक र विकासको गतिलाई प्रभाव पार्ने भएकाले आफुहरूले त्यसो गर्न हुदैन भन्‍ने अडान राख्दा पार्टी भित्रैबाट अहसहयोग भएको दाबी उनले गरे ।

प्रधानमन्त्री ओलीको नाममा भोट मागिएको र ओलीलाई नै जनताले विश्‍वास गरेकाले उनको विकल्प खोज्‍ने विषय अस्वभाविक भएको तर्क पोखरेलको छ । उनले प्रतिनिधिसभा पुनःस्थापनासँगै मुलुकमा अस्वभाविक क्रियाकलाप हुन थालेको र त्यस्ता घिनलाग्दा काम नेकपा भित्रैका नेताहरूबाट भइरहेको दाबी गरे । 

उनले महिला अधिकारको विषयमा संसदमा पहिलो अगुवाइ गरेर राज्यका अंगहरुमा ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्छ भनेर प्रस्ताव लैजाने र सफल बनाउने नेतृ वर्तमान राष्ट्रपतिलाई अपमान गर्ने काम हुनु दुःखद भएको बताए । 

महिला अधिकार कसैले दिएर दिइने विषय नभएको उल्लेख गर्दे उनले  श्रम, उत्पादन तथा सम्पत्तिमाथिको अधिकारसंग महिला अधिकारलाई हेर्नुपर्ने तर्क गरे ।