बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

चन्‍दतिर इङ्‍‍गित गर्दै दाहालले भने : वैज्ञानिक समाजवादको निम्ति लड्न म तयार छु

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू वैज्ञानिक समाजवाद र साम्यवादका लागि लड्न तयार रहेको बताएका छन् । बिहीबार सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्दतिर संकेत गर्दै फेरि एक ठाउँमा आउन आह्वान गरे । ‘हप्ता/दश दिन बसौं, कतिबस्‍नुपर्ने हो बसौ ’ उनले भने, ‘एउटा निष्कर्ष निकालौं । वैज्ञानिक समााजवादको निम्ति, साम्यवादको निम्ति म लड्न तयार छु । मेरो विचारमा म लडिरहेको छु । तपाइको विचारमा तपाइहरू पनि लडिरहनु भएको छ ।’ 

अध्यक्ष दाहालले आफूले गर्न खोज्दाखोज्दै पनि भनेजति गर्न नसकेको स्वीकार गरे । ‘अहिले पनि संसद्कै लागि लड्यो भन्ने तर्क तपाइहरूले गर्नु भयो । अलिकती भएको उपलब्धीलाई केही पनि होइन भन्दै एक्लै बसेर हुन्छ त ? तपाइहरूलाई लाग्या छ सबै मैले गुमाइदियो । तपाइहरूले जित्नुभयो भने म तपाइहरूको पछि लाग्छु । मलाई केही डर छैन ।’

माओवादी आन्दोलनले ल्याएको उपलब्धी र दाहाललाई निस्तेज पार्न प्रतिक्रियावादीले ध्यान केन्द्रीत गरेको उनले बताए। आफूभित्र आवेग र आक्रोश रहेको भन्दै दाहालले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए ।

उनले भने, ‘प्रतिक्रियावादी तत्वहरू यही माओवादी आन्दोलनले ल्याएका उपलब्धीलाई के गरी ध्वस्त पार्न सकिएला र माओवादी आन्दोलनले तयार गरेको नेतृत्वको टिम, त्यसमध्ये एक नम्बरमा अहिले पनि प्रचण्ड नै छ । तपाइहरूलाई मन परे पनि, मन नपरे पनि । त्यो प्रचण्डलाई के गरी निस्तेज पार्ने होला भन्नेमा नै सबैको ध्यान । भ्रममा कोही नरहनुहोला । मैले भने नि, म भित्र फेरि एकचोटी आवेग र आक्रोश छ । नेपालको स्वतन्त्रतामाथि, नेपाली जनताको आत्मनिर्णयको अधिकार माथि कसैले धावा बोल्छन् भने नेपाली जनतालाई फेरी एकचोटी बिद्रोह गर्ने अधिकार हुन्छ ।’ नेपालमा शान्तिपूर्ण ढंगले जनविद्रोह गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।