आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

धनुषा कांग्रेसको सभापतिमा पजियार निर्वाचित

जनकपुरधाम - नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार विजयी भएका छन् । शुक्रबार भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार संतोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार विजयी भएका हुन् । पजियार नेता विमलेन्द्र निधि निकटका हुन् । 

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेकोमा योगेन्द्रले १ हजार ७३५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी संतोषले १ हजार ४६ मत ल्याएका थिए ।

३३ मत भने बदर भएको छ । धनुषा क्षेत्र नम्बर १ मा ८०१ मतदाता मध्ये ६७१, क्षेत्र नम्बर २ मा ८३० मध्ये ६९६, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६३४, क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ५७८ र अपांग समूहबाट २३५ मत खसेको थियो ।

यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये सबभन्दा धेरै मत पजियारले नै ल्याएका थिए । तरपनि उनको पक्षमा ५१ मत पुग्न नसक्दा दाेश्राे चरणकाे मतदान भएकाे थियाे ।

कुल ३ हजार १७३ मतदातामध्ये पहिलो चरणमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । पजियारले १ हजार २४८ मत पाएका थिए भने संतोषले ८८२ र दिनेश प्रसाद प्रसैलाले ६३० मत पाए । त्यस्तै, १५१ वटा मत बदर भएको थियो ।