आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

अघोषित लोडसेडिङ बन्द गर्न उद्योग वाणिज्य महासंघको माग

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले अघोषित लोडसेडिङले उद्योगहरू थप धरासायी हुन पुगेको भन्दै सहज विद्युत आपूर्तिको व्यवस्था गर्न माग गरेको छ । बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नहुनु आदि कारणबाट उद्योगी व्यवसायीहरु संकटमा परिरहेको अवस्थामा लोडसेडिङ थप मारमा परेको भन्दै एक विज्ञप्ती निकालेको हो । 

रुस र युक्रेनको युद्धबाट देशको अर्थतन्त्र झन संकटमा पर्न गएको र पेट्रेलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ लगायतमा समेत अत्यधिक मूल्य वृद्धि हुन जाँदा उद्योगी व्यवसायी तथा उपभोक्ता मारमा परेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले भारतबाट  विद्युत खरिद गरी आपूर्ति गर्न महंगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाई औद्योगिक प्रयोजनमा खपत हुने विद्युतमा १२ घण्टाको अघोषित लोडसेडिङ गरेपछि उद्योगहरूमाथि झन ठूलो बज्रपात पर्न गएको जनाएको छ।

सरकारले विद्युत खपत बढाउन उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विद्युत प्राधिकरणप्रति विश्वस्त भई सबैजसो ठूला उद्योगहरूले करोडौंको थप लगानी गरेको अवस्थामा उद्योग नै धरासायी हुने गरी विद्युत आपूर्तिमा लोडसेडिङ गरिनु राज्यका लागि पनि ठूलो नोक्सानी हुने देखिन्छ।

महंगो डिजेलबाट उद्योग संचालन गर्दा स्वदेशी उद्योगहरूले आयातित वस्तुमा प्रतिस्पर्धा गर्न नसकि उद्योग नै बन्द गर्नु पर्ने अवस्था देखिएको छ । विद्युत प्राधिकरणको घाटालाई न्यूनिकरण गर्ने नाममा उद्योग माथि नै थप भार व्यहोर्ने गरी मात्र विद्युत आपूर्ति गर्ने नेपाल विद्युत प्राधिकरणको नीति व्यवहारिक देखिंदैन । अतः स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धन गर्न नेपाल विद्युत प्राधिकरणबाट उद्योग क्षेत्रमा गरिएको अघोषित लोडसेडिङ अविलम्ब खारेज गरी उद्योग क्षेत्रमा नियमित  विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसँग संघले माग गरेको छ। 

यो पनि