ऊर्जा

उद्योगमा १४ घण्टा लोडसेडिङ

विश्वव्यापी ऊर्जा संकटको असर नेपालमा पनि

कमल धिताल |
चैत १५, २०७८ मंगलबार १५:४४ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले विद्युत आपुर्ति सहज बनाउन नसक्दा देशका उद्योगहरू अघोषित लोडसेडिङको मार खेप्न थालेका छन् । देशका विभिन्न स्थानमा रहेका औध्योगिक करिडरमा रहेका उद्योहरूमा विद्युत व्यवस्था सहज नहुँदा उद्योगहरूले लोडसेडिङ खेप्न परेको हो।

भारतबाट आउने विद्युत निकै महंगो हुँदा हाल प्राधिकरणले थोरै मात्रामा मात्रै आयात गरेको छ। थोरै आयात गर्दा उद्योगहरूमा अघोषित रूपमा लोडसेडिङ सुरु भएको छ।


कोभिड-१९ को प्रकोपबाट भर्खरै उदाउँन थालेका उद्योगहरूमा विद्युतप्रति सरकारको ढलमले नीतिले समस्यामा परेका छन् ।

भारतमा सस्तो हुँदा भारतबाट बिजुली ल्याएर लोडसेडिङ अन्त्य गरेको नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत कटौती हुनासाथ उद्योगहरूमा ऊर्जा संकट देखिन सुरु भएको छ। हाल ठूला उद्योगहरूमा दैनिक १४ घण्टासम्म लोडसेडिङ हुन थालेको व्यापारीहरू बताउँछन्।

भारतको विद्युत आपुर्ति अत्याधिक महंगो हुँदा प्राधिकरणले हाल निकै कम मात्रामा मात्रै बिजुली खरिद गरेको हुँदा नेपालको अधिकांस उद्योगहरूमा रातभर लोडसेडिङ हुन थालेको छ। ३८ रूपैयाँमा विद्युत किनेर उद्योगहरूलाई दिएको प्राधिकरणले दैनिक ३० लाख युनिटमात्रै विद्युत आयात गरेको छ जुन माग हाल ७० लाख युनिट रहेको प्राधिकरणकै तथ्यांकले बताउँछ।

हाल नेपालमा नीजि क्षेत्रबाट ३ सय मेगावाट, सहायक कम्पनी ३ सय तथा प्राधिकरण ५ सय मेगावाट गरेर ११ सय मेगावाट उत्पादन रहेको छ तर माग भने १६ सय देखि १६ सय ५० मेगावाट पुगेको  प्राधिकरणले जनाएको छ।  जसमा भारतबाट ४ सय मेगावाट जति आयात गर्नुपर्ने हुन्छ ।

रुस-युक्रेन युद्धबाट विश्वमै सुरु भएको ऊर्जा संकटको असरले नेपालको उद्योगहरूले पनि भोग्नु परेको छ। भारतबाट नेपालले किन्ने विद्युत कोइलाको विद्युत हो जुन पछिल्लो दिनमा एक टनकै ३ सय डलरको हाराहारीमा पुगेको छ । केही समयअघि यसको मूल्य भनेको ८०-८५ अमेरिकन डलर रहेको थियो । यसरी धेरै कोइलामा निर्भर रहेको भारत आफैं ऊर्जा संकटमा पुगेपछि नेपालमा पनि यसको असर देखिन थालेको छ ।

केही समयअघि चीनमा समेत कोइला अभावले ब्ल्याक आउट भएको थियो । हाल पनि चीनमा निकै कम मात्रामा उद्योगहरू सञ्चालन रहेका छन् । यसरी विश्वमै ऊर्जा संकट रहँदा नेपालमा पनि त्यसको बाछिटाले नेपाललाई छोएको हो ।

नेपालका औद्योगिक क्षेत्रहरूमा विद्युत प्राधिकरणले अघोषित रूपमा विद्युत कटौती गर्दा उद्योगीहरू मारमा परेका छन्। उद्योग संगठन मोरंग, वीरगज्ज उदयोग वाणिज्य संघ लगायतले हाल आफ्ना उद्योगहरूमा विद्युत आपुर्तिमा समस्या रहेको जनाए।

हाल हरेक बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म विद्युत आपुर्ति बन्द हुन थालेको चर्चित उद्योगपति पवन गोल्यान बताउँछन्। प्राधिकरणले भनाइ र गराइ फरक परेको हुँदा उद्योगीहरू समस्यामा परेको गोल्यान बताउँछन् । 'हाम्रा उद्योगहरूमा बेलुका ४ देखि भोलिपल्ट बिहान ६ बजेसम्म विद्युत आपुर्ति बन्द हुन्छ' उनले इकागजसँग भने ।

उदयोग संघ मोरङका प्रवक्ता विनित सिंघानियाले विद्युत व्यवस्था प्रभावकारी नहँदा उत्पादनमा समस्या रहेको बताए । हाल दैनिक रूपमा १४ घण्टा बिजुली गइरहेको र यसले उत्पादनलाई प्रत्यक्ष असर गरेको सिंघानियाले जानकारी दिए । मोरङका उद्योगहरूमा हाल बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ हुने गरेको र यसले यहाँका उद्योगहरूमा ४० प्रतिशतसम्म उत्पादन कटौती भएको जानकारी दिए ।

'प्राधिकरणले व्यवसायीहरूसँग कुनै छलफलमा समेत नगरेको र अघोषित रूपमा १४ घण्टासम्म लोडसेडिङ गर्दा यहाँका उद्योगहरूको उत्पादन ४० प्रतिशतसम्म कमी आएको छ' उनले भने । 'प्राधिकरणले पत्रकार सम्मेलन गरेर विद्युत आपुर्ति बढाउनुस् भन्छ र उद्योगहरूमा लोडसेडिङ सुरु गर्छ र उद्योगीहरूसँग छलफल समेत गर्दैन' उनले इकागजसँग भने।

त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता पनि हाल वीरगञ्जका उद्योगहरूमा आघोषित लोडसेडिङले समस्या पारेको बताउँछन् । दैनिक घण्टौँ विद्युत आपुर्ति बन्द हुन थालेको र यसले उद्योगको उत्पादनमा समस्या पारेको गुप्ताले बताए ।

सुदुरपश्चिम प्रदेशको धनगढीमा विद्युत आपुर्ति नियमित नुहँने समस्या रहेको उद्योगीहरूले जानकारी दिएका छन् । हाल बेला बेला १५ देखि ३० मिनेट अघोषित रूपमा विद्युत जाने आउने गरेको राजश्री इन्ड्रष्टीका सञ्चालक मनोज अग्रवाल बताउँछन् । 'हाम्रोमा दैनिक रूपमा बेला बेला १५ देखि ३० मिनेटसम्म विद्युत आपुर्ति बन्द हुने गरेको छ तर हामीले गर्मीका कारणले गर्दा होला भनेर पर्ख र हेर भन्ने स्थितीमा छौँ ' उनले इकागजसँग भने ।

त्यस्तै हेटौंडा औद्योगिक क्षेत्रलाइ पनि अघोषित लोडसेडिङले समस्या पार्न थालेको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख राजेन्द्र कँडेलले लगातार १४ घण्टासम्म बत्ति काटिएको कारण उद्योग सञ्चालनमा समस्या भएको बताए।

हेटौडाका उद्योगहरूमा बार हेरर १४ घण्टासम्म लोडसेडिङ हुन थालेको कँडेलले जानकारी दिए। भारतबाट आयात हुने बिजुली आयात गर्न समस्या परेका कारण देखाउँदै प्राधिकरणले बत्ति काटेपछि हेटौंडाको मात्रै हैन देशका तीन ठूला औद्योगिक करिडोरसहित सयौं उद्योगमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र मात्रै चालू अवस्थाका एकसय १० वटा उद्योगसहित १३ वटा संघसंस्था तथा कार्यालयहरू छन् । औद्योगिक क्षेत्रको विद्युत काटिदा उद्योगसँगै यहाँका सरकारी कार्यालयहरू पनि प्रभावित भएका छन् । उद्योगको करिब ५० प्रतिशत उत्पादन कटौती भएको कँडेलले बताए ।

उता विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराई भने हाल उद्योगहरूलाई प्राधिकरणले १४ घण्टा विद्युत दिएको बताउँछन् । हाल भारतमै पनि विद्युत आपुर्ति समस्या रहेको र प्राधिकरणले बिजुली खरिद गर्नै नपाएका कारण उद्योगहरूले पूर्ण आपूर्ति नपाएको जानकारी दिए । प्राधिकरणले भारतबाट ७ हजार मेगावाट घण्टा (करिब ३ सय मेगावाट) माग गरे पनि ३ हजार मेगावाट घण्टा (करिब १ सय ५० मेगावाट) विद्युत आयात भएको उनले बताए । ठूला उद्योगहरूलाई विद्युत कटौती गरेपनि साना उद्योगहरूमा भने कटौती नगरेको प्रवक्ता भट्टराईको भनाइ छ ।

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x